विश्वकप क्रिकेटः अमेरिकाद्वारा क्यानडा पराजित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
काठमाडौँ

काठमाडौँ आरोन जोन्सको उत्कृष्ट ब्याटिङमा अमेरिकाले आइसिसी टी ट्वान्टी विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रङ्गशालामा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो । खेलमा क्यानडाले दिएको एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७ दशमलव चार ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।

अमेरिकाको जितमा आरोन जोन्सले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ४० बलमा ४ चौका र १० छक्काको मद्दतमा ‘नटआउट’ हुँदै (अविजित) ९४ रन बनाएका हुन् । एन्ड्रिस गौसले ४६ बलमा सात चौका र तीन छक्कासहित ६५ रन जोडे । कप्तान मोनांक पटेलले १६ रन बनाए । बलिङतर्फ क्यानडाका कलिम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो । क्यानडाका लागि ओपनर नवनीत धालिवालले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ४४ बलमा ६ चौका र तीन छक्कासहित ६१ रन बनाएका हुन् ।

क्यानडाका लागि निकोलस किर्टोनले ३१ बलमा तीन चौका र दुई छक्कासहित ५१ रन बनाए भने श्रेयस मोभ्भाले १६ बलमा दुई चौका र दुई छक्कासहित ३२ रनको योगदान दिए । साथै आरोन जोनसनले १६ बलमा पाँच चौकाको मद्दतमा २३ रन बनाए भने दिलप्रित बजवाले ११ रन बनाए । परगत सिंह पाँच रनमा आउट भएका हुन् ।

अमेरिकाका अली खान, कोरी एन्डरसन र हरम्रित सिंहले समान एक÷एक विकेट लिए । उक्त विश्वकप प्रतियोगितामा अमेरिका समूह ‘ए’ मा रहेको छ । अमेरिकाको समूहमा क्यानडासँगै आयरल्यान्ड, भारत र पाकिस्तान छन् ।

अमेरिकाले आफनो दोस्रो खेल यही जुन ६ तारिखमा पाकिस्तानसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा पपुवान्युगिनी र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका