आदिवासी चलचित्र महोत्सव सुरु

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
70 Shares
काठमाडौँ 

चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजदेखि भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । झाँकी प्रदर्शन, विशेष सांस्कृतिक प्रस्तुतिसहित महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन उपसभामुख इन्दिरा रानाले गरिन् । आदिवासी जनजाति चलचित्र महासङ्घद्वारा आयोजित उक्त चलचित्र महोत्सव जेठ २३, २४ र २५ गते तीन दिन सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न आदिवासी जनजाति समुदायका चलचित्रकर्मीद्वारा निर्माण गरिएका चलचित्र प्रदर्शन गरिनेछ ।

महोत्सवको उद्घाटन गर्दै उपसभामुख रानाले आदिवासी जनजाति समुदायप्रतिको आमबुझाइमा सकारात्मक परिवर्तन ल्याउन चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “अझै धेरै जनजाति समुदायका चलचित्रहरु बन्नुपर्छ । यी चलचित्रको माध्यमबाट हाम्रो जाति र सम्प्रदायको पहिचानलाई विश्व समाजमा चिनाउन र हामीप्रतिको मानसिकतामा परिवर्तन ल्याउनसक्नुपर्छ ।” भेषभुषा मात्र लगाएर नाचेर मात्र आदिवासीका उद्देश्यहरु पूरा नहुने कुरामा पनि उनले बताइन् ।

कलाकार दयाहाङ राईले आफ्नो समुदायको चलचित्रलाई विश्व समुदायसँग साक्षात्कार गराउन सबै चलचित्रकर्मीलाई आह्वान गरे । “हामीभित्र धेरै कथा छ । हाम्रो मूल्य मान्यता र विश्वासमा चलचित्र बनेका छन्, अझ धेरै कुरा ल्याउन बाँकी छ । यस चलचित्र महोत्सवले विश्व समुदायमा हामी र हाम्रा चलचित्र देखाउनसक्नुपर्छ”, उनले भने ।

महासङ्घका अध्यक्ष पुर्खाजित राईले विभिन्न समुदायको संस्कार, संस्कृति, भाषा, रैथाने ज्ञानसीप, प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै र पहिचानलाई संरक्षण गर्न आदिवासी जनजाति चलचित्रकर्मीले मातृभाषामा चलचित्र निर्माण गरिरहेको बताए । उनले भने, “ती चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन यो महोत्सव महत्वपूर्ण हुने विश्वास छ । जसका निम्ति महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र र चलचित्रकर्मीको विशेष उपस्थिति र विशेष प्रदर्शन हुनेमा विश्वस्त छु ।” महोत्सवमा सहभागी हुने चलचित्रलाई विभिन्न आठ विधामा अवार्ड प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए । उत्कृष्ट वृत्तचित्रले रु २० हजार र लघु चलचित्रले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

महोत्सवको उद्घाटनमा मगर ,सुनुवार ,लिम्बू, शेर्पा र राजवंशीले आफ्ना समुदायका झाँकी प्रस्तुत गरे भने मौलिक आदिवासी जनजातिका भेषभूषामा र्याम्प वाक पनि गरिएको थियो । तीन दिनसम्म चल्ने महोत्सवमा मौलिक मौलिक खाना, मौलिक मौलिक भेषभूषा, मौलिक फोटो प्रदर्शन, विभिन्न जातजातिका झाँकीका साथै सांस्कृतिक कार्यक्रम समेत रहनेछन् । महोत्सवमा चलचित्र विकास बोर्ड, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल टेलिकम, नर्भिक इन्टरनेसनल हस्पिटल र माडवाडी सेवा समितिको सहभागिता रहेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया