बर्दियाको गुलरियामा जन्मिएका हाल कीर्तिपुर काठमाडौँमा बसोबास गर्दै आएको यामबहादुर बानियाँ । रसुवा जिल्लामा भर्खरै जिल्ला न्यायाधिवक्ता रूपमा जिल्ला सरकारी कार्यालय रसुवामा कार्यरत छन् । उनको जागिरे जीवनको दौरानमा रसुवा पहिलो रहेको हो। रसुवा आउनुभन्दा अगाडि महान्यायाधिवक्ताको कार्यालय काठमाडौँमा कार्यरत थियो । निजामती सेवामा प्रवेश गरेको २० वर्ष भयो । सरकारी वकिल कार्यालय भन्नाले आम नागरिकले कस्तो रूपमा हेर्छन् वुझ्छन, यस कार्यालयमा कस्ता प्रकृतिको मुद्दा आउँछन् जस्ता यावत विषयमा जिल्ला सम्वाददाता सरस्वती न्यौपानेले गरेका कुराकानीको अंश :
जागिर जीवन बिताउनु भएको कति वर्ष हुनुभयो ?
मैले जागिरे जीवन बिताएको २० वर्ष भयो ।
रसुवा आउनु भन्दा अगाडी कहाँ हुनुहुन्थ्यो ? रसुवा पहिलो पटक हो ?
यहाँ आउनुअघि म महान्यायाधिवक्ता कार्यालय काठमाडौँ कार्यरत थिए । रसुवामा मेरो पहिलो पटक हो ।
अरू जिल्ला भन्दा यस जिल्लामा काम गर्दा तपाइलाई कस्तो लाग्यो ? आफ्नो अनुभव बताइदिनुहोस् न ?
रसुवा जिल्लामा काम गर्न अत्यन्तै सहज र सरल भएको छ । कामको चापको हिसाबले अत्यन्तै कम रहेको जिल्ला हो । यसो हुनु कारण यहाँका मानिसहरू शान्तिप्रिय, सहयोगी र क्षमाशील भएको कारणले गर्दा हो भन्ने लाग्छ । त्यस्तै थोरै जनसङ्ख्या, एकै रूपको समुदाय, ग्रामीण परिवेश पनि महत्त्वपूर्ण कारण हो जस्तो लाग्दछ ।
यहाँ प्राय जस्तो कस्ता प्रकृतिको मुद्दाहरू दर्ता हुन्छन् ?
जिल्ला सरकारी वकिल कार्यालयबाट दर्ता भएका मुद्दाहरूलाई हेर्दा रसुवा जिल्लामा प्राय ज्यान मार्ने उद्योग, जबरजस्ती करणी, चोरी, ठगी, अभद्र व्यवहार जस्ता व्यक्ति विरुद्ध र सम्पत्ति विरुद्धका मुद्दाहरूको सङ्ख्या बढी रहेको पाइन्छ ।
तपाई यस कार्यालयमा कार्यरत रहँदा दर्ता हुन आएका मुद्दाहरू फर्छ्यौट कति भएका छन् ? बाकी छन् ? कति भन्न नमिल्ने हुन्छ ?
म जिल्ला सरकारी वकिल कार्यालय रसुवामा प्रमुख भएर आएपछिको मुद्दा सङ्ख्यालाई हेर्दा आ।व। २०७९।०८० मा गत वर्षको जिम्मेवारी सरिआएको अदालततर्फ ७ वटा र प्रशासन तर्फ ४५ वटा साथै आ।व।२०७९।०८० मा दर्ता भएको अदालत तर्फ ११ वटा र प्रशासन तर्फ ६ वटा गरी अदालत तर्फ जम्मा १८ र प्रशासन तर्फ जम्मा ५१ गरी जम्मा ६९ वटा मुद्दा रहेकोमा अदालत तर्फ ७ वटा फर्छ्यौट भएको र प्रशासन तर्फ १८ वटा गरी जम्मा २५ वटा मुद्दा फर्छ्यौट भई जम्मा ४४ वटा मुद्दा बाँकी रहेको थियो भने यस २०८०।०८१ मा गत वर्षको जिम्मेवारी सरिआएको अदालततर्फ ११ वटा र प्रशासन तर्फ ३३ वटा साथै यस आ।व।२०८०।०८१ को वैशाख सम्ममा दर्ता भएको अदालत तर्फ १३ वटा र प्रशासन तर्फ ४ वटा गरी अदालत तर्फ जम्मा २४ र प्रशासन तर्फ जम्मा ३७ गरी जम्मा ६१ वटा मुद्दा रहेकोमा अदालत तर्फ ९ वटा फर्छ्यौट भएको र प्रशासन तर्फ २१ वटा गरी जम्मा ३० वटा मुद्दा फर्छ्यौट भई जम्मा ३१ वटा मुद्दा बाँकी रहेको छ ।
जिल्ला महान्यायाधिवक्ता जिम्मेवारी वहन गर्दै गर्दा आफूले गरेका कामबाट कति सन्तुष्ट हुनुहुन्छ ?
म आफ्नो पदीय जिम्मेवारी वहन गर्ने क्रममा सम्पादन गरेका कार्यहरूबाट पूर्ण रूपमा सन्तुष्ट छु।
सरकारी वकिल कार्यालय भन्नाले आम नागरिकले कस्तो रूपमा हेर्छन् बुझ्छन् । तपाई एक जिल्ला महान्यायाधिवक्ता भएको नाताले यसको बारेमा बताइदिनुस् न ?
जिल्ला सरकारी वकिल कार्यालयको मुख्य जिम्मेवारी फौजदारी न्याय प्रशासनको प्रभावकारी रूपमा कार्यान्वयन गर्नु हो । यसका माध्यमबाट पीडकलाई दण्ड र पीडितलाई राहत प्रदान गर्नु यस कार्यालयको प्रमुख उद्देश्य हो । यसका साथै समाजमा अमन चयन कायम गर्नु तथा कानुनको शासनको प्रत्याभूति दिलाउन समेत यस कार्यालयका महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । तसर्थ जिल्ला सरकारी वकिल कार्यालय फौजदारी न्यायको रक्षक, विधिका शासनको पालन गराउने कार्यालयको रूपमा हेर्ने बुझ्ने अवस्था रहन्छ भन्ने लाग्दछ ।