संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेसले बिहीबार म्यानमारका सेनाले हालैका दिनहरूमा थुप्रै सर्वसाधारणको ज्यान लिने गरी पश्चिमी रखाइन राज्य र उत्तरी सागेन क्षेत्रमा गरेको हमलाको कडा निन्दा गरेको छ ।
“महासचिव गुटेर्रेसले म्यानमार सेनाले नागरिकहरूको ज्यान लिने गरी रखाइन राज्यमा गरेको आक्रमणको कडा निन्दा गर्नुभएको छ,” गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
अराकान आर्मी (एए) ले नोभेम्बरमा सत्तारूढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बल्झिएको हो । एएले करिब ६ लाख उत्पीडित रोहिङ्ग्या मुस्लिम अल्पसंख्यकको बसोबास रहेको रखाइन राज्य आफ्नो जातीय जनसंख्याको थप स्वायत्तताका लागि लडिरहेको बताएको छ ।
यस हप्ता राज्यको राजधानी सिट्वेको उत्तरमा रहेको ब्येन फ्यु गाउँमा गरिएको खोजतलास र कारबाहीका क्रममा जुन्टा सेनाले ७० भन्दा बढी रखाइन नागरिकहरूको हत्या गरेको बताइएको छ । जुन्ताले भने उक्त दाबी केबल हल्ला भएको बताएको छ । रखाइन राज्यका विभिन्न भागमा फोन र इन्टरनेट सेवा काटिएसँगै यहाँका नागरिक सञ्चारको सुविधाबाट वञ्चित रहेका छन् ।