संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकलाई निःशुल्क प्रसाद भोजन खुवाउने व्यवस्था गर्ने तयारी भइरहेको बताएको छ ।
पतञ्जलि योग समिति नेपाल तथा महिला पतञ्जलि योग समिति काठमाण्डौको संयुक्त आयोजनामा शनिवारबाट सुरु भएको तीन दिने बृहत् योग शिविरको उद्घाटन गर्दै मन्त्री तामाङले पशुपति दर्शन गर्न आउने पर्यटकलार्ई एक छाक प्रसाद भोजन गराउने गरी योजना बनाइएको बताएको हो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई पशुपतिनाथ मन्दिर दर्शन गरेपछि सहज रूपमा निःशुल्क भोजन प्रसाद स्वरुप ग्रहण गर्न पाउने गरी कार्य भइरहेको भए पनि उक्त योजना कार्यान्वयनमा जान भने केही समय लाग्ने बताउनु उनले प्रस्ट पारे । पर्यटकको सहजता र सहुलियतका लागि उक्त बाल्यावस्था गर्न लागिएको उनको भनाई थियो ।
यसअघि पर्यटन मन्त्री तामाङको अग्रसरतामा नै आउने असार १ गतेदेखि धार्मिक एवं परम्परागत पूजा एवं अनुष्ठान विधिलाई कायम राखेर पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोल्ने निर्णय भइसकेको छ । मन्त्री तामाङ अध्यक्ष रहनुभएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् बैठकले धार्मिक पक्षलाई विधिवत् अघि बढाउँदै दर्शनार्थीको सुविधाका लागि पूर्व, पश्चिम, उत्तर र दक्षिणका मूल ढोका खुला गर्ने निर्णय गरेको थियो । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ४ देखि ८ बजेसम्म खुल्ला रहने छ ।
यस्तै पशुपतिनाथ मन्दिरभित्र र बाहिर पाउने चन्दनमा पनि एकरूपता ल्याइने भएको छ । हरेक दर्शनार्थीलाई पशुपतिनाथ मन्दिरको अभिषेक गरिएको जल पनि निःशुल्क दिने व्यवस्था मिलाइएको कोषले जनाएको छ । महाशिवरात्रि पर्वका अवसर, साउने सोमबारसहित विशेष पर्वमा मात्रै चारै ढोका खुला गर्ने मरिएकोमा मन्त्री तामाङको पहलमा असार १ देखि चारै ढोका खुला गर्ने निर्णय भएको हो ।