माछीखोलामा प्रहरी चौकीको भवन निर्माण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
70 Shares
धार्चे

गोरखा धार्चे गाउँपालिका–५ स्थित माछीखोला प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ । लामो समयदेखि अस्थायी टहराबाट सञ्चालन भइरहेको माछीखोला प्रहरी चौकीको भवन करिब  ४१ लाख रुपैयाँ को लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए ।

गाउँपालिकाले उपभोक्ता समितिमार्फत भवन निर्माण सम्पन्न गरेको उनको भनाइ छ । “भवन निर्माणका लागि पालिकाले करिब ३८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो”, उनले भने, “त्यसबाहेक तीन लाख १३ हजार आठ सय ५८ रुपैयाँ बराबरको स्थानीय उपभोक्ता समितिमार्फत श्रमदान भएको छ ।”

विसं २०८० मङ्सिरमा गाउँपालिकाले भवन निर्माणको काम अघि बढाएको थियो । निर्माण सुरु भएको करिब पाँच महिनामा काम सम्पन्न भएको हो । भवन निर्माण सम्पन्न भएसँगै अब माछीखोला प्रहरी चौकीले पक्की भवनबाट नागरिकलाई सेवा दिन पाउने भएको छ । निर्माण सम्पन्न गरिए पनि भवन हस्तान्तरण गर्न बाँकी छ ।

लामो समयदेखि जीर्ण बनेको अस्थायी टहराबाट सञ्चालित माछीखोला प्रहरी चौकीबाट प्रहरीलाई हातहतियारको सुरक्षाका साथै सेवा प्रवाहमा समेत कठिनाइ हुँदै आएको थियो । “प्रहरी चौकीको भवन नहुँदा प्रहरीले दिने सेवा चुस्त, दुरुस्त र प्रभावकारी बनाउन समस्या रहेको थियो,” उनले भने, “अब निकै सहज हुने भएको छ ।”

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका