जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा राष्ट्रपति रामचन्द्र पौडेल आज जेनेभा प्रस्थान गरेका छन् ।स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा आज राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुनेगरी तोकिएको हो।
नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । जनेभामा रहँदा राष्ट्रपति पौडेलले भोलि बुधबार स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार उनले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन मञ्चको उद्घाटन समारोहलाई यही जेठ ३१ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टिनमेयरको निमन्त्रणामा औपचारिक भ्रमणका लागि जेनेभाबाट आगामी असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको बर्लिनतर्फ प्रस्थान गर्नेछन् । त्यहाँ रहँदा उनले आफ्ना जर्मन समकक्षी स्टिनमेयरसँग औपचारिक भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहनेछन् । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूत तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहनेछन् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।