देश-विदेशमा रहेका खोटाङका आठ युवा गजलकारको संयुक्त गजलसङ्ग्रह ‘सावाको सुसेली’ सार्वजनिक गरिएको छ ।
जापानमा कार्यरत गजलकार रविन्द्र दिखुक्पाद्वारा सम्पादित सङ्ग्रह नेपाल प्रज्ञा-प्रतिष्ठानका काव्यविभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, वरिष्ठ कवि जसराज किराती, प्राज्ञ शशी लुमुम्बू, वरिष्ठ गजलकार ललिजन रावल, वरिष्ठ कवि तथा गीतकार रमेश पौडले, गैरआवासीय नेपाली संघ जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लगायतका अतिथिहरूद्वारा सार्वजनिक गरिएको हो ।
रावासावा प्राज्ञिक समाज र सावा कला साहित्य मञ्चद्वारा आयोजित उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राज्ञ प्रा.डा. पौडेलले सङ्ग्रहभित्र समाविष्ट गजल पढ्दा गजलकारहरूमा प्रचुर सम्भावना रहेको आफूले पाएको बताए । उनले स्वदेश र प्रवासमा रहेका गजलकारको संयुक्त सङ्ग्रह स्वागतयोग्य रहेको विचार व्यक्त गरे ।
गजलकार रावलले सङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गर्दै गजलकारहरूबाट अरु परिष्कारको अपेक्षा गरेको बताए । उनले गजल लेख्दा यसको नियमलाई गजलकारले कठोरतापूर्वक पालना गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा जसराज किराती, शशी लुमुम्बू, रमेश पौडेलले नेपाली साहित्यको समृद्धिमा प्रवासी स्रष्टाहरूको योगदानको चर्चा गरेको थियो । रावासावाका अध्यक्ष गीतकार टीका चाम्लिङ, महासचिव कवि चन्द्र रानाहँछा, सदस्य आनन्द भट्टराईले संस्थाको उद्देश्य र गतिविधिमाथि प्रकाश पारेको थियो ।
सङ्ग्रहमा अशोक थुलुङ राई, असीम विश्वकर्मा, अरुण बान्तावा राई, दीप मुस्कान (जेबी राई), धनु विष्ट, रविन दावा राई, रविन्द्र दिखुक्पा र सुगम साकुराका बीस बीस वटा गजल सङ्ग्रहित छन् ।