चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ‘भूपरिवेष्टित’बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका छन् । उनले आइतबार नेपाली पक्षसँगको द्विपक्षीय वार्तामा लाओसको उदाहरण प्रस्तुत गर्दै यस्तो धारणा राखेका हुन् ।
नेपालजस्तै भूपरिवेष्टित मुलुक लाओस पनि रेल कनेक्सनका कारण भूजडित बन्ने क्रममा रहेको उनको भनाइ थियो । वार्तामा सहभागी एक मन्त्रीका अनुसार राष्ट्रपति सीले केरुङ-काठमाडौं रेल निर्माणको विषय आफ्नो उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका थिए । उनले नेपालमा रेलको कुरा अब छलफल र बहसको विषय नै नभएको, बरु त्यसलाई कसरी ल्याउने भन्नेतर्फ ध्यानकेन्द्रित भइरहेको बताए ।
‘अब प्राविधिक रूपमा कसरी ल्याउन सकिञ्छ भन्नेतर्फ हामी केन्द्रित हुनुपर्छ,’ राष्ट्रपति सीले भने । सन् २०१६, २०१८ र २०१९मा रेलको विषयमा छलफल भइसकेकाले अब त्यही आधारमा सम्भाव्यता अध्ययनको चरणमा प्रवेश गरिएको उनले जानकारी दिए । दुई देशको संयुक्त विज्ञप्तिमा केरुङ-काठमाडौं रेललाई पोखरा हुँदै लुम्बिनी पुर्याउने सैद्धान्तिक प्रतिबद्धता जनाइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।