कलाका विभिन्न प्लेटफार्ममार्फत स्थानिय सम्पदा, संस्कृति र सम्पदा प्रर्वद्धन गर्ने ध्येयले झण्डै ६ वर्षअघि शुरु भएको ‘जेसुम यात्रा’ले यसपटक बाग्मतीको उदगमस्थललाई चुनेको छ । विभिन्न साहित्यकार, पत्रकार, चित्रकार र रंगकर्मी सहभागी यो अभियानले यसपटक बूढानीलकण्ठस्थित शिवपुरीको ऐतिहासिक स्थल वाग्द्वारलाई रोजेको हो, जहाँबाट बाग्मती नदी शुरु हुन्छ ।
‘यसपटक हामीले बाग्मती सभ्यताको उदगमस्थललाई रोज्यौं’, अभियानका संस्थापक एवं बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर समेत रहेकी साहित्यकार अनिता लामाले भनिन्, ‘बिचमा केही समय रोकिएपछि फेरि यो अभियान शुरु गरेका हौं ।’ काभ्रेको धुलिखेलबाट शुरु भएको अभियानले नगरकोट, भक्तपुर, बौद्ध, तारकेश्वर, विष्णुद्धार, धनकुटा लगायत विभिन्न थलोका सम्पदास्थल पुगेर प्रत्यक्ष साहित्य रचना, चित्रकला सिर्जना र नाट्य प्रस्तुति गरिसकेको छ ।
यसपटक वाग्द्वारमा पनि पदयात्रा गर्दै कवि अनिता लामासँगै नाराद बज्राचार्य, फूल कुमार बमजन, स्नेह सायमी, बालकृष्ण बस्नेत, फूलमान वल, जयन्ता पोखरेल लगायतले कविता सिर्जना गरेर प्रत्यक्ष सुनाए भने दिपेन्द्र बनेपाली, एनबी गुरुङ, विनोद गुप्ता, चन्द्र श्रेष्ठ, विपना महर्जन, नेमबहादुर तामाङ, मनरा प्रजापति, लुनिभा महर्जन लगायतका चित्रकारहरूले लाइभ चित्र कोरे । त्यस्तै सरोज अर्याल, केदार श्रेष्ठ, अनामिका गौतम, समापिका गौतम लगायतका रंगकर्मीले जीवन र प्रकृतिसँगको सम्बन्ध जोडिएको थिममा ‘ठेगाना’ नामक छोटो नाट्य प्रस्तुति दिएका छन् ।
बुढानीलकण्ठ नगरपालिकाको व्यवस्थापकीय सहकार्य रहेको यसपटकको यात्रामा जेसुम अभियन्ताहरूलाई बूढानीलकण्ठका मेयर मिठाराम अधिकारीले रुद्राक्षको माला लगाएर स्वागत गरेका थिए । त्यसपछि कवि, चित्रकार, संचारकर्मी र रंगकर्मीहरुको टोलीले नागी गुम्बाबाट यात्रा तय गर्दै बाग्द्धार हुँदै शिवपुरी पिकसम्म पुगेर टुंग्याएका थिए । ‘स्थानिय संस्कृति र सम्पदा प्रबद्र्धन मात्रै हैन, यो यात्रा विश्वव्यापी प्रकोप बन्दै गइरहेको जलवायु परिर्तनप्रतिको सचेतना पनि हो’, प्रेस काउन्सिलका अध्यक्ष समेत रहेका जेसुम संस्थापनमध्ये एक बालकृष्ण बस्नेतले भने, ‘अभियानको नाम भने तामाङ भाषाबाट लिएका छौं, जसको अर्थ हुन्छ, सबैभन्दा सुन्दर ।’
अभियानलाई साथ दिन बाग्मती प्रदेशका पुर्व सासद एवं नेकपा एमाले काठमाडौ जिल्ला अध्यक्ष दीपक निरौला पनि पुगेका थिए । आफ्नो यो दोस्रो सहभागिता भएको बताउदै उनले जेसुम अभियान देशको समृद्धिसङ्ग पनि जोडिएको बताए । बिचमा केही समय राखिएको भएपनि अब यो यात्राले निरन्तरता पाउने जेसुम संयोजक लामाले बताइन् । यात्रा भर सेलो गायक एवं कवि फूल कुमार बमजनले आफ्नो अनौपचारिक प्रस्तुति दिएर माहौल रमाइलो पारेका थिए ।