बागमती भ्रमण वर्ष २०२४ : ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्‍याली प्रारम्भ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडौं

बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्‍याली प्रारम्भ भएको छ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा सुरु भएको सो र्‍यालीको व्यवस्थापन नासा फाउन्डेसनले गरेको हो ।

र्‍यालीका सहभागीहरूले बागमती प्रदेशका विभिन्न जिल्लामा भएका पर्यटकीय गन्तव्य तथा धार्मिक स्थलहरूको अध्ययन गर्ने र यो क्षेत्रमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजममार्फत गर्न सकिने आवश्यक कार्यको बारेमा विवरण सङ्कलन गर्नेछन् ।

सोमबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरबाट प्रारम्भ भएको र्‍यालीमा तीन वटा गाडी र १३ जना विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ । नासा फाउन्डेसनका अध्यक्ष कृष्णसिंह बस्नेत र नासा नेपालका अध्यक्ष दशरथ रिसालले र्‍यालीमा सहभागीहरूलाई बिदाइ गरिएको थियो ।

सो अवसरमा अध्यक्षद्वयले सहभागीहरूले पर्यटकीय क्षेत्रको बारेमा राम्रो अध्ययन गर्ने र यसबाट बागमती प्रदेशमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गर्दै कार्य सफलताको शुभकामना प्रदान गरे ।

सहभागीहरू पहिलो दिन नगरकोट, दोलालघाटबाट, सुकुटे बीच, मुढे हुँदै कालिन्चोक नजिक कुरी बजार पुगेका छन् । आगामी दिनमा उनीहरू दोलखा भिमसेन, सिन्धुलीगढी, मकवानपुर गढी, सौराहा, त्रिशूली नदी र्याफ्टिङ, नुवाकोट दरबार, मैलुङ झरना, देवीघाट, मार्खु आदि स्थानमा पुग्ने छन् र ललितपुरको गोदावरीमा आएर र्‍याली समापन हुनेछ ।

सहभागीहरूले सङ्कलन गरेको प्रचार प्रसार सामाग्री, भिडियो आदि सामग्री तथा ड्राफ्ट मन्त्रालयमा प्रस्तुतीकरण गरिने र प्राप्त सुझावहरू समेटी अन्तिम प्रतिवेदन तयार गरिने छ । यसबाट बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरूको पहिचान र प्रचार प्रसार गरिने, ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत प्रदेशको दिगो पर्यटनका लागि आधारशिला तयार पार्ने र बागमती प्रदेशका ठुला सहरबाट ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत ड्राइभ टुरिजमका गन्तव्यहरूलाई सार्वजनिक गर्ने कार्यमा सहयोग पुग्ने छ ।

यस कार्यक्रमले बागमती प्रदेशमा रहेका विभित्र पर्यटकीय एवं धार्मिक स्थलहरूको पहिचान हुनेछ । यसले देशको राजधानीबाट नजिकै रहेका अधिकांश पर्यटकीय स्थलको पहिचान गरी उजागर गर्न साथै प्रवर्धन गर्न टेवा पुग्ने छ । नजिकै रहेका तर ओझेलमा परेका पर्यटकीय स्थललाई ड्राइभ टुरिजम तथा टु ह्विल टुरिङ अर्थात् सामान्य गाडी तथा मोटरसाइकलमै अवलोकन गर्न सकिने विषयलाई सहज तरिकाले प्रस्तुत एवं प्रवर्धन गरिने छ, जसले गर्दा बागमती प्रदेशको पर्यटकीय क्षेत्रमा उल्लेखनीय पर्यटक आउने र दशकै पर्यटन क्षेत्रमा टेवा पुग्नुका साथै अर्थतन्त्रमा पनि सघाउ पुग्ने छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका