गृहसचिव अर्याल र सिचुवान प्रान्तका भ्वाइस गभर्नर हान्बिङबीच भेट

काठमाडौँ 

गृहसचिव एकनारायण अर्याल र चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङबीच आज भेटवार्ता भएको छ । गृहसचिव अर्यालको निमन्त्रणमा हान्बिङको नेतृत्वमा आएको पाँच सदस्यीय चिनियाँ टोलीले गृहसचिव अर्याल नेतृत्वको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा द्विपक्षीय छलफलसमेत गरेको छ ।

गृह मन्त्रालयमा भएको भेटमा गृहसचिव अर्यालले नेपाल सरकार र सिचुवान प्रान्तीय सरकारबीच मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै सीमा सुरक्षालगायत दुवै देशको सामाजिक, आर्थिक एवं पारस्परिक हितका विषयमा जोड दिए।

सीमा सुरक्षामा समन्वय एवं सहकार्यमा जोड दिँदै गृहसचिव अर्यालले पूर्वाधार विकासमा चीनको सहयोगको उच्च प्रशंसा गरेका छन्  । सचिव अर्यालले चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा नेपाल सरकार र चीनबीच भएको विपद् जोखिम न्यूनीकरण र आपत्कालीन प्रतिकार्यमा सहयोगसम्बन्धी समझदारीपत्र कार्यान्वयनमा ध्यानाकर्षण गराउँदै थप सहयोगको अपेक्षा रहेको बताएका हुन्  ।

सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङले सीमामा अवैध गतिविधि नियन्त्रण र व्यवस्थापन, सीमापार अपराध नियन्त्रण, नेपालमा चिनियाँ लगानीको संरक्षण र विशेषगरी सीमावर्ती क्षेत्रमा वन्यजन्तु अपराध नियन्त्रणमा कानुन कार्यान्वयनमा जोड दिए  ।

चिनियाँ प्रतिनिधिमण्डलले गृहमन्त्री लामिछानेसँगसमेत भेट गरेको थियो । भेटमा सुरक्षा सम्बन्धलाई सुदृढ गर्ने र द्विपक्षीय सहयोग प्रवद्र्धन गर्ने विषयमा छलफल भएको थियो । विपद् व्यवस्थापन सम्झौता कार्यान्वयन, नेपाली सुरक्षा निकायलाई सहयोग र सीमा व्यवस्थापनलगायतका विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया