महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन सम्पन्न

काठमाडौँ 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न आज निर्वाचन सम्पन्न गरेको छ । देशभर एकलाख ४६ हजार सात सय १४ सङ्गठित सदस्य मध्येबाट एक हजार चारसय प्रतिनिधिका लागि शान्तिपूर्ण रुपमा निर्वाचन गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिएका छन् ।

खुला, महिला र दलित गरी एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरिने व्यवस्था छ । त्यसमध्ये केन्द्रीय कमिटी तीन सय ४६ र केन्द्रीय आयोगबाट एक सय चार जना प्रतिनिधि स्वतः महाधिवेशन प्रतिनिधिका रुपमा चयन भएका छन् ।

यही असार १६ देखि २० गते काठमाडौँस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीले एकसय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनोट गर्ने जनाएको छ । पार्टीले सबै जिल्ला तथा मातहतका कमिटीलाई सम्बन्धित कार्यक्षेत्र, भूगोल तथा योगदानका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्न आजको समयसीमा निर्धारण गरेको थियो ।

सबै कमिटीले मनोनयन दर्ता, मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन, मतदाताको नामावली विवरण प्रकाशनलगायत सम्पन्न गरेपछि निर्वाचन गरिएको हो । निर्वाचनको मतपरिणाम भोलिसम्म केन्द्रमा प्राप्त हुने जनाइएको छ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन वर्षअघि विद्रोह गरी गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौं राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी मानेको एकीकृत समाजवादी पार्टीले अहिलेसम्म सम्पन्न भएका नौ वटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौं मानेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया