पशुपतिनाथमा भेटी चोरीको अभियोगमा पक्राउ परेका पाँच जनालाई थुनामा पठाउने आदेश

काठमाडौँ 

जिल्ला अदालत काठमाडौंले पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गरेको अभियोगमा पक्राउ परेका छ जनामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश कपिलमणि गौतमको इजलासले उक्त अभियोगमा पक्राउ परेकामध्ये एक जना सत्यनारायण जोशीलाई धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य पाँच जना प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
उनले भने, “पशुपतिनाथको भेटी चोरी प्रकरणमा सोधपुछका लागि प्रहरीले पक्राउ गरेका सत्यनारायण जोशीलाई मात्रै काठमाडौँ जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेको र अन्य सबै प्रतिवादीलाई थुनामा पठाउने आदेश दिएको छ ।” गत जेठ ७ गते पशुपतिनाथमा भेटी गणनाका  क्रममा चोरी गरेको सिसिटिभी फुटेजमा देखिएपछि विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाईं र अनिल परियारलाई विकास कोषले प्रहरीलाई खबर गरी पक्राउ गरेको प्रवक्ता अधिकारीले बताए ।
उक्त प्रकरणमा सत्यनारायण जोशीलाई भने सोधपुछका लागि भन्दै केही दिन ढिला प्रहरीले पक्राउ गरेको थियो । पशुपतिनाथ मन्दिरको भेटी चोरी गरेको खुलेसँगै प्रहरी वृत्त गौशालाले प्रतिवादीलाई हिरासतमा राखेर अनुसन्धान गरिसकेपछि मुद्दा अदालतमा पेस गरेको थियो ।
जिल्ला सरकारी वकिलको कार्यालयले पक्राउ परेका छ जनाविरुद्ध रु दुई करोड ३० लाख १० हजार बिगो माग दाबी गरेर मुद्दा दायर गरेको विकास कोषका प्रवक्ता अधिकारीले बताए ।उनले भने, “भेटी चोर्ने सबैलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र रु ५० हजारदेखि रु एक लाखसम्म जरिवानाको माग दाबी गरिएको छ ।”

तपाईको प्रतिक्रिया