दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलको मोदीसँग भेटवार्ता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
भारत

तिब्बती धर्मगुरु दलाई लामालाई भेट्न आएको अमेरिकी प्रतिनिधिमण्डलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेको छ । यसै क्रममा प्रधानमन्त्री मोदीले अमेरिकी तल्लो सदनकी पूर्व सभामुख न्यान्सी पेलोसीलाई पनि भेटेका थिए ।

बिहीबार भएको मोदी र अमेरिकी प्रतिनिधिमण्डलबीचको यो भेटलाई धेरै अर्थपूर्ण रूपमा हेरिएको छ ।

यसअघि बुधवार अमेरिकी प्रतिनिधिमण्डलले धर्मशालामा धर्मगुरु लगाइ लामासँग भेट गरेको थियो । यस प्रतिनिधिमण्डलमा न्यान्सी पेलोसी बाहेक सांसद माइकल म्याकलसहित ५ जना सांसद छन् । यी सांसदहरू रिपब्लिकन र डेमोक्रेटिक पार्टीका हुन् । यो प्रतिनिधिमण्डलको नेतृत्व रिपब्लिकन सांसद माइकल म्याककलले गरिरहेका छन् ।

बुधवार अमेरिकी प्रतिनिधिमण्डलले दलाई लामाको ‘उत्तराधिकार’ मामिलामा अमेरिकाले चीनलाई हस्तक्षेप गर्न नदिने बताएको थियो ।

विदेशी प्रतिनिधिमण्डलले भारतीय भूमिबाट तिब्बतको समर्थनमा आवाज उठाएको यो पहिलो पटक हो । यद्यपि न्यान्सी यसअघि मे २०१७ मा दलाई लामालाई भेट्न भारत आएकी थिइन् । तर, न्यान्सी पेलोसीले त्यति बेला कुनै प्रतिनिधिमण्डलसँग भारत भ्रमण गरेकी थिइनन् ।

भारतले तिब्बतलाई चीनको हिस्सा मान्छ र यसबारे टिप्पणी गर्नबाट बच्दै आए पनि यो घटनालाई निकै अर्थपूर्ण रूपमा विश्लेषण गरिएको छ । अमेरिकी प्रतिनिधिमण्डलको यो भ्रमण औपचारिक हो वा होइन भन्नेबारे अहिलेसम्म कुनै जानकारी आएको छैन ।

तपाईको प्रतिक्रिया