प्रविधिमैत्री पत्रकारिता तालिम : डिजिटल युगमा पत्रकारितालाई सशक्त बनाउने कदम

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
224 Shares
काठमाडौं

डिजिटल युगको आवश्यकतालाई ध्यानमा राख्दै आयोजित प्रविधिमैत्री पत्रकारिता तालिमको शुक्रवार समापन गरिएको छ । तालिमले नेपाली पत्रकारहरूलाई आधुनिक प्रविधिको उपयोग र प्रभावकारी सूचना सम्प्रेषणका लागि आवश्यक सीपहरू प्रदान गरेको छ।

तामाङ पत्रकार सङ्घ र बौद्धनाथ क्षेत्र विकासको सहकार्यमा आयोजित तालिममा ४० भन्दा बढी पत्रकारहरूले सहभागिता जनाएका थिए । दुई दिने तालिममा डेटा पत्रकारिता, डिजिटल सुरक्षा, सोसल मिडिया व्यवस्थापन र मल्टिमिडिया उत्पादन जस्ता विषयमा विस्तृत प्रशिक्षण दिइएको थियो ।

तालिममा एनटिभी नेपाल, प्रभाव दैनिक, सैलुङअनलाइन, नयाँ पत्रिका, रेडियो सगरमाथा, जोयनेपाल, तामाङ भ्वाइस, मातृका सन्देश, ग्लोबलमिडिया, थाहासंचार, रेडियो लगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू सहभागी थिए ।

समितिका अध्यक्ष राजकुमार लामाले तालिमको समापन समारोहमा सम्बोधन गर्दै भने, प्रविधिको सही उपयोगले मात्र हामीले विश्वसनीय र प्रभावकारी पत्रकारिता गर्न सक्छौँ । यो तालिमले हामीलाई नयाँ युगको पत्रकारिताको लागि तयार पारेको छ । अध्यक्ष लामाले विश्वसनीय र गुणस्तरीय समाचार मात्र सम्प्रेषण गर्न अनुरोध गरेका छन् ।

‘पत्रकारिता कठिन विषय हो । यसमा मेहनत गरेर अगाडि बढ्न सके सफलता प्राप्त गर्न सकिन्छ’, उनले भने । पत्रकारले स्वतन्त्र रहेर सत्य तथ्य विषयलाई ओकालत गर्नुपर्ने उनले बताए ।

प्रविधिमैत्री पत्रकारिता तालिम सुरु

यस्तै सङ्घका संस्थापक अध्यक्ष एवं लेखक रवीन्द्र तामाङले नेपालको छापा माध्यमका पत्रिकाहरू प्रविधिको विकाससँगै अन्ततिर गइरहेको बताउँदै अब प्रविधिसँगै पत्रकारहरू पनि अपडेट हुनुपर्ने बताए ।

प्रमुख प्रशिक्षक रजनीश भण्डारीले सहभागीहरूलाई बधाई दिँदै भने, ‘तपाईँहरू सबैले अत्यन्त मेहनत र उत्साहका साथ यो तालिम सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। अब तपाईँहरू प्रविधिको सहायताले अझ प्रभावकारी समाचार सम्प्रेषण गर्न सक्षम हुनुहुनेछ ।’ उनले एआई को प्रयोगसँगै गलत सन्देशबाट बच्नुपर्नेछ ।’ उनले भने,‘ एआईद्वारा सिर्जित समाचार र तस्बिरहरूले असत्य जानकारी सम्प्रेषण गरेर भ्रमित पार्न सक्छ ।’

सहभागी पत्रकार सुमन तामाङले भने, ‘यो तालिमले मलाई प्रविधिको महत्त्व र यसको सही उपयोगका तरिकाहरू सिकाएको छ। म अब सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूमा समाचारलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्षम भएको छु ।’

प्रशिक्षार्थी स्मिथु घिसिङले प्रविधिमैत्री पत्रकारिताले एआई प्रविधिको प्रयोग गर्दा स्रोतहरूको गोपनीयता र सुरक्षाको सुनिश्चितता गर्नु पत्रकारहरूको लागि चुनौतीपूर्ण रहेको बताइन् ।

समापन समारोहमा सहभागीहरूले तालिमको महत्त्व र यसको प्रभावकारिताबारे सकारात्मक धारणा व्यक्त गरे । उनीहरूले प्रविधिमैत्री प्रशिक्षणले भिडियो र अडियो सम्पादन सीपलाई निकै निखारिएको बताएका छन् ।

तालिमको समापनमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरियो । भविष्यमा पनि यस्ता तालिमहरू नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरियो।

तालिमको सफल समापनसँगै नेपाली पत्रकारितामा प्रविधिमैत्री दृष्टिकोणलाई थप प्रोत्साहन मिल्ने र सूचना सम्प्रेषणलाई थप प्रभावकारी बनाउने विश्वास लिएको आयोजकले जनाएको छ ।

आयोजक संस्थाका अध्यक्ष सुवास योन्जनले पत्रकारिताको भविष्यलाई प्रविधिसँग जोडेर मात्र अघि बढाउन सकिने भन्दै यस किसिमका तालिमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा समितिका कार्यकारी निर्देशक शान्तिमाया बल, सदस्यत्रय सुरज रुम्बा, रब्बा शेर्पा र जानुका भण्डारी, तामाङ संस्कृति घेदुङका सदस्य लगायतको उपस्थिति रहेका थिए ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया