निरोगी समाज अपरिहार्य : अध्यक्ष ओली

काठमाडौँ 

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले  निरोगी समाज निर्माण गर्न योग अपरिहार्य भएको बताएका छन्  ।  अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज एमालेद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो परिवार, छिमेकी र सिङ्गो मानव समुदायका लागि मस्तिष्कको सदुपयोग हुनु प्रमुख कुरा भएको बताएका हुन् ।

योगले शारीरिक, मानसिक स्वच्छताका साथै आचरण, व्यवहार र क्रिया–कर्मको समेत स्वच्छता र पवित्रताको मार्गदर्शन गर्ने उनको धारणा छ ।  “योग कसैलाई चाहिने, कसैलाई नचाहिने होइन, यो सबै मानव जातिको साझा सम्पत्ति हो”, अध्यक्ष ओलीले भने । योगको सार अहिंसा, सत्य धारण र शरीरको नियन्त्रण भएको उनले बताए ।

मानिसलाई स्वस्थ जीवन जिउन र असल कर्म गर्न सिकाउने कुरा योग हो भन्ने कुरा बुझ्नुपर्नेमा उनले जोड दिए । योगमा गलत कुरा र स्वार्थ मिसिन नहुने अध्यक्ष ओलीको भनाइ थियो । सङ्कीर्ण र समूहगत स्वार्थ योगमा मिसिनु नहुने उनले बताए ।

योगले मानिसलाई गलत बाटोबाट सही मार्गमा तथा गलत विचारबाट सही विचारतर्फ डोर्याउन मद्दत पुग्ने अध्यक्ष ओलीको धारणा थियो । योग सद्विचार र सत्कर्मको संयोग भएको उनले बताए । ध्यान शिवको पालादेखि नै भए पनि बुद्धको पालामा आएर यसले विशेष महत्व पाएको उनको भनाइ थियो ।

 

तपाईको प्रतिक्रिया