ग्लानको बाब्सामा पहिलो चोटि पुग्दा


कहिलेकाहीँ आकस्मिकताले अवसरलाई जन्म दिन्छ । जति बेला सतही निर्णय जस्तो लागे पनि दूरगामी अर्थ राख्दछ आकस्मिकताको निर्णयले । हुन त सकारात्मक सोचको खोजले गहिराइसम्म पुर्‍याउँछ मानिसलाई । हो ठ्याक्कै त्यस्तो अवस्थाको निर्णय अवश्य नै कठोर हुन्छ ।

म सोचिरहेको थिएँ कि हाम्रो वंशजको प्रादुर्भाव कहाँबाट भयो ? त्यसको लागि धेरै टाढा जान नसके पनि थातथलो सम्म अध्ययन र अवलोकन गर्न सकौँ । सुनेको ग्लानको थातथलो गोल्फू हो । मेरो म्हेमेताङ खोज्दै जाँदा लुङक्वाई ग्लान भेटियो आखे । त्योभन्दा अघि म्हेमे तुम्बायुरुङ, अझ अघि ब्रम्याल न्हीङमो, अझ अघि म्हेमेतावा ताजेन, अझ अघि नम्स्याल, म्हेमे हिस्याल म्हेमे पढेको थिएँ । तर गोल्फुमा कुन मेमेकोबाट बसोबास सुरु यो हामीले जान्नै पर्छ र खोज्नै पर्छ भन्ने सोचाइले मन बरालिएको थियो ठोस योजनाको खोजीमा । केही वर्षअघि ग्लान समाजको भेला गरेर यो अभियानको सुरुवात गर्ने कोसिस नभएको पनि होइन तर अल्मलिरहेकै थियौँ । सोच थियो हामीसँग ।  विधि (सङ्गठन) थिएन । विधि नभए पछि सोचलाई मूर्तिकरण गरेको ठोस योजना हुँदैन । ठोस योजना बेगर कार्यान्वयनको सवाल आउँदैन । त्यो अमूर्त सोचमा अधुरो योजनाको यात्रालाई जसरी पनि मुर्तिकरण गर्नु थियो सानो योजनाबाट । त्यही सोचका साथ सल्लाह गर्ने उद्देश्यले  दिनभरिको लेखन कार्य  स्थगित गरेर सबैभन्दा पहिले मकवानपुर जिल्ला समन्वय प्रमुख ललित बहादुर घलानलाई मेसेन्जरमा सन्देश पठाएँ २०८२/०२/२४ गते बिहीबारको दिन दिउँसो ४:३० बजे तिर ।

सन्देशको जवाफ होइन उहाँले फोन गर्नु भयो – दाइ म त हिँड्न लागेको ग्लानको थातथलो अवलोकन कार्यक्रम छ गोल्फूमा । माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ पनि जाँदै हुनुहुन्छ । तपाईँ पनि जाऊँ । साँझको ५ बजे हिँड्ने कुरा छ हेटौँडाबाट ।

म अनिर्णीत भएँ, गर्मी छल्ने र एक दुई काम गर्ने उद्देश्यले रहेको घरायसी बसाइँबाट एक्कासि यात्रा तय निकै कठिन कुरा थियो । तैपनि अप्ठ्यारो बिच जाने निधो गरेँ र सर्दाम जोडजाड गर्न थालेँ ।

मेरो सल्लाहको मक्सद थियो हाम्रो वंशजको पुर्ख्यौली थातथलोसम्म हाम्रा परिवारमा जीवनको उत्तरार्धमा रहेकाहरूलाई भ्रमण गराएर ल्याऊ । तर आकस्मिकताको योजनामा पनि भौगोलिक अवस्थिति अध्ययनको रूपमा लिई पहिले आफू मात्र भए पनि जाऊँ भन्ने हिसाबले तयार भएँ ।

एउटा संशय र सन्देहको यात्रामा खुल्दुली र जिज्ञासाहरू सलबलाइरहेका थिए ।  आन्तरिक समस्याहरू पनि जब्बर थिए तर भरोसा लिने र दिने बिचको विश्वासले विचलित नगरे पछि बेचैनी भाग्दो रहेछ मनबाट ।

नम्सा पुरान

एकरात काठमाडौँको बसाई रह्यो । तामाङ घेदुङ सङ्घ बागमती प्रदेशका अध्यक्ष प्रिय भाइ लिलाकुमार घलान काठमाडौँमा नै रहेकोले सहज भयो ढिलो हिँडाइले गन्तव्य पुग्दा रात धेरै बिते पनि ।

हाम्रा छलफलहरू यस पटक ग्लान समाज र पार्टी जीवनको बारेमा केन्द्रित गर्‍यौँ ।  जीवनको आयाम र अवयव छलफल गर्‍यौँ ।  हामीले निरस र निराशाका कुरा गरेनौँ । सम्भावना र चुनौतीका कुरा गर्थ्यौँ । बोन र बौद्ध धर्मको कुरा गर्‍यौँ । संस्कृति र रीतिरिवाजको कुरा गर्‍यौँ । यो सँग जोडिएका सङ्घ र मोर्चाहरूको भूमिका, नेतृत्व र नीतिको कुरा गर्‍यौँ ।  संयोगले जुरेको यात्रालाई शून्यतामा कैद गर्नु पर्छ भन्ने हुनै सक्दैन, त्यसो त हामीले जाने बुझेसम्मको सीमाभित्र आफूलाई अविराम दौडाइ रह्यौँ ।

हामी नयाँ ठाउँको नयाँ बाटोमा आफ्नो सुरले कस्सिएर बत्तिने अवस्था थिएनौँ । पिच्छलग्गु बन्नु निर्विकल्प जस्तै थियो । त्यसो हुँदा पनि बेला बेला बाटो बिरायौँ । उकाली ओराली र घुम्ती मोडहरू हाम्रो यात्रामा पलपल जोडिरहँदा लाग्थ्यो हाम्रो आगमनमा स्वागतार्थ प्रतीक्षित छन्  तिनीहरू ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र लाङटाङ राष्ट्रिय निकुञ्ज बिचको त्यो माटो हाम्रा छिमेकी हुन् भन्दो हो सायद बाटाका हरियालीले ।

अन्जान थियो भूगोल, रमाइलो थियो यात्रा । अगाडि पछाडि यात्रीको लावालस्कर थिए तर साथीको रूपमा एउटा स्कार्पियो गाडीमा चढेका हामी मात्र  थियौँ । हाम्रो साथ रहेका म, ललित घलान, लिलाकुमार घलान, प्रतापसिंह तामाङ, डुप्साङ तामाङ लो र गुरु जी, थियौँ । हामी बिच मात्र बात मार्न सक्थ्यौँ । आवाज श्रवण गर्न सक्थ्यौँ । इशारा देख्न सक्थ्यौँ ।

बाटो अप्ठ्यारो भएकोले हामी आफूलाई यथास्थानमा राख्न दुई हातले कतै समाउनु पर्ने हुन्थ्यो ।  तैपनि निदाएका हुन्थ्यौँ पालोफेरी ।  भर्खरैका कलिला सडकहरू सानोतिनो वर्षाले पनि क्षतविक्षत गरेकाले बाटो सहज थिएन । जबरजस्त त्यो असहज बाटोमा आफ्नो वंशजको थातथलो भेट्टाउने पुलकित रहरहरू उभ्याएर दौडिरहेका थियौँ ।

माननीय मन्त्री ज्यु आफ्नो निर्वाचन क्षेत्र भएकोले भेटघाटको कामलाई पनि जोड्नुहुन्थ्यो । जनतासँग जीवन र मन जोड्ने उहाँको शैली र भावना साट्ने मिठो स्वभाव अझै निरन्तर जारी रहेछ । भेटघाटको बिसौनीमा पानी र चियाले भोकले दबिलिएको पेटमा टेकनको काम भइरहेको थियो । त्यसो त गन्तव्य पुग्न ढिलो होला भन्ने पिरलो र वर्षाको समय बाटो बिग्रेर फर्किन गाह्रो होला भन्ने त्रास मन भित्र गायब हुन्थे एक क्षण । यही सिलसिलामा एउटा बिसौनीमा एउटा घर सिन्धुपाल्चोक र अर्को नुवाकोट भएको भन्ज्याङमा फोटो सेसन पनि चलायौँ ।

उकाली घुम्तीहरू काटेर ओरालो लाग्दै गर्दा कार्यक्रम स्थल पुग्नु अघि बाटोमा देखिएको डम्फु पार्क, कुदाप क्याबा (चुल्हो) डाँडा पार्क हेर्दै गयौँ । पर्यटन प्रवर्द्धनको उद्देश्य गरिएको सोही प्रकृतिको विकास क्रमले राम्रै गरेको आभाष हुन्थ्यो । ग्लान वंशको थातथलोमा गुलाबको माला र खादा लगाएर भव्य स्वागत गरे स्थानीय जनप्रतिनिधि र जनताले ।  गुरु रेम्पोर्छे (पद्म सम्भव)को ठुलो मूर्ति पनि बनाइएको रहेछ ।  सम्याएर बनाएको प्राङ्गणमा जम्मा भयौँ सबै । प्राङ्गण बिच बास्नादार धुवाँ उडिरहेको थियो ।  वरिपरि अवलोकन गर्ने र जानकारी लिने काम भयो  स्थानीयबाट । न्यानो सत्कार सहित खाना खायौँ । लगत्तै कार्यक्रममा सहभागी भयौँ ।

ग्लान समाजको आयोजनामा भएको कार्यक्रम समाजका सचिव युनिक रक्षे ग्लानको सञ्चालन र दुप्चेश्वर–४ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङको स्वागतार्थमा  ग्लान समाजका संयोजक अर्जुनबहादुर तामाङको अध्यक्षतामा प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय हितबहादुर तामाङ, विशेष अतिथिको रूपमा निवर्तमान प्रदेश सभा सदस्य माननीय ओमबहादुर ग्लान, मकवानपुर जिल्ला समन्वय समिति प्रमुख तथा बागमती प्रदेश समन्वय समिति अध्यक्ष ललित घलान, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, सोही पालिकाका पूर्वअध्यक्ष योबिन्द्रसिंह तामाङ, उपाध्यक्ष माकुरी तामाङ, दुई नम्बर वडा अध्यक्ष वीरबल तामाङ, ग्लान लाप्तापाको अनुसन्धानकर्ता आनन्दी ग्लान  र राजनीतिक दल, पत्रकार र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि लगायत उपस्थित रहनु भयो ।  प्रमुख अतिथि दाजु हितबहादुर तामाङले ङार तिम (ऐतिहासिक घर) को संरक्षण र ग्लानहरुको सङ्ग्रहालय बनाउन यस पटक २०८१/०८२ मा  नब्बे लाख बजेट विनियोजन गर्नुभएको जानकारी गराउनुभयो ।  यस थलोमा हामी रगतको नाताले बाँधिएकाहरू छौँ । जो जीते पनि हाम्रै मान्छेले जित्छौँ । जुन पार्टीले जीते पनि गाउँको विकास गर्ने कर्तव्य हुने भएकोले हामी थर फरक भए पनि तामाङ संस्कार र संस्कृति एउटै हुने भएकोले ग्लानको सङ्ग्रहालय भनिए पनि तामाङकै सङ्ग्रहालय हुने कुरा बताउनुभयो । वक्ताहरूले आफ्नो धारणा, सुझाव र प्रतिबद्धता राखे । धन्यवाद दिए । खुसी व्यक्त गरे ।

कार्यक्रम समापन पछि एउटा सङ्कल्प सहित हामी फर्क्यौं कि आउँदा दिनमा ग्लान समाजलाई औपचारिक रूपमा मूर्तिकृत गर्नेछौँ । ग्लानहरुले आफू अज्ञात रहेको वंशजका बारेमा सबै कुरा नाम्सा पुरानमा आएर सबै थाहा पाउन सक्ने गराउनेछौँ । यसमा सामूहिक र व्यक्तिगत हिसाबले हामी सबै लागी पर्नेछौँ । हामी सक्नेछौँ, सक्नु पर्छ हाम्रो आफ्नो लागि । ग्लान समाज धन्यवादको हकदार छ । यसले हाम्रो उद्देश्य, लक्ष्य र सङ्कल्पको आधार तयार गरेर बाँकी यात्राको सूत्रपात गरेको छ । असीम अनुरागका शब्द गुच्छा सहित आभार प्रकट गर्छु । ग्लानहरुको जय होस्, हामी सबैको जय होस् !

 (लेखक वागमती प्रदेशको पूर्वसांसद् हुन् ।)

तपाईको प्रतिक्रिया

पत्रपत्रिका