सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र सूचना र सञ्चारका लागि अत्यन्त प्रभावकारी र महत्वपूर्ण माध्यम भएको बताएकी छिन्न ।कैलालीको धनगढीमा आजदेखि सुरु भएको राष्ट्रिय बाल चलचित्र महोत्सव–२०८१ को शुभारम्भ गर्दै मन्त्री शर्माले चलचित्र मनोरञ्जनको साधन भएकाले समाजमा सकारात्मक परिवर्तन गर्न सन्देश दिने माध्यम पनि भएको बताएकी हुन् ।
विगतमा राजनीतिक परिवर्तनको आन्दोलनका क्रममा राजनीतिकर्मीबाट कला संस्कृतिलाई संरक्षण गरिएको उल्लेख गर्दै उनले भनिन्, “एउटा व्यक्ति मञ्चमा उभिएर बोलि रहनुभन्दा उसको कला र संस्कृतिबाट प्रस्तुत गरिएको सन्देश बलियो हुन्छ ।”
राजनीतिक परिवर्तन गरेर प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सबै भाषाभाषी, क्षेत्र, लिङ्ग र समुदाय मूल प्रवाहका रुपमा देश अगाडि बढिरहेको उल्लेख गर्दै मन्त्री शर्माले भने, “राजनीतिक परिवर्तन गरेर प्राप्त भएको व्यवस्थापछि हाम्रो अवस्था कसरी परिवर्तन गर्नुपर्छ भन्ने ठाउँमा उभिएका छौँ ।”
मन्त्री शर्माले कला र संस्कृतिमा सुदूरपश्चिम सम्भावना बोकेको क्षेत्र हुँदाहुँदै पनि समाजमा व्याप्त कुपोषण, छाउपडी, आङ खस्ने जस्ता समस्याको समाधान गरी रुपान्तरण गर्न र संविधान तथा कानुनमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न चलचित्र प्रभावकारी माध्यम भएको बताए । उनले जातीय छुवाछूत र छाउपडी मुक्त समाज घोषणा गरिए पनि व्यवहारमा लागू हुन नसकिरहेकाले यस्ता कुरीतिको समाधान कसरी गर्न सकिन्छ भन्नेमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
नेपाली समाजलाई लैङ्गिक विभेद र जातीय विभेद मुक्त बनाउने तथा सम्पूर्ण समुदायलाई राज्यको मूल प्रवाही करणमा लैजान सरकारको अभियान रहेको मन्त्री शर्माले बताए । कार्यक्रममा सांसद रुपा सोसी चौधरीले समाजलाई समयानुकूल विकासमा पुर्याउन चलचित्र महत्वपूर्ण माध्यम भएको बताए ।
चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसीले बाल चलचित्रले बालबालिकाको मनोविज्ञानमा सकारात्मक सन्देश दिने गरेकाले चलचित्रलाई विद्यालय तहबाट नै पठनपाठनको व्यवस्था मिलाउन पाठ्यक्रममा समावेश गराउने प्रयास भइरहेको बताए ।
सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा टिएन जोशीले समाज विकासका लागि मुख्य मेरुदण्ड नै चलचित्र, भाषा, कला र संस्कृति रहेको उल्लेख गरे । सो अवसरमा मन्त्री शर्माले सुदूरपश्चिम प्रदेशका चलचित्र कर्मी उदय सिंह बोहरा, अम्बिकाप्रसाद आचार्य, सङ्ग चौधरी, जानकी चौधरी, नाथुराम महतो र दलबहादुर बोगटीलाई प्रशंसापत्रसहित सम्मानित गरे ।
समारोहमा विभिन्न विद्यालयका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए । बालबालिकासँग भएको क्षमताको विकास गरी उनीहरुको प्रतिभा उजार गर्दै समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले चलचित्र विकास बोर्डले गत वर्षदेखि देशका विभिन्न क्षेत्रमा बाल चलचित्र महोत्सव गर्दै आएको छ । यही असार ९ गतेसम्म जारी रहने धनगढीको बाल चलचित्र महोत्सवका क्रममा बाल चलचित्र प्रस्तुति तथा बालबालिकासम्बन्धी विभिन्न संवाद कार्यक्रम हुने बताइएको छ ।