गाग्रीमा पानी ओसार्ने समस्या समाधान हुन्छ : खानेपानीमन्त्री राई

काठमाडौँ 

खानेपानी मन्त्री राजेन्द्रकुमार राईले खानेपानीको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको बजेट कोशेढुंगा साबित हुने बताएको छ  । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ को खानेपानी मन्त्रालयका शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै खानेपानीमन्त्री राईले उक्त दाबी गरेको छ ।

“खानेपानीको लाइनमा बस्ननपर्ने अवस्थाको सिर्जना गर्छु, कम्मरमा गाग्री र पिठ्युँमा डोको बोक्नुपर्ने बाध्यता अन्त्य गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, मन्त्री राईले भने । मेलम्ची खानेपानी आयोजनामा बाढीले पुर्याएको क्षतिपछि आयोजनालाई कसरी अगाडि बढाउने भनेर अध्ययन भएको र बाढीका कारण पुरिएको आयोजनाको ट्याङ्की सुरक्षित स्थानमा लैजानका लागि मन्त्रिपरिषद्मा स्वीकृती पाएको र त्यसका लागि एसियाली विकास बैंकले करिब रु दुई अर्ब अनुदान सहयोग गर्ने पनि उनले बताए ।

आयोजनाको दोस्रो चरण अन्तर्गतको कामका लागि लार्के र याङ्ग्री खोलाबाट समान दैनिक १७ करोड लिटर पानी काठमाडौँ पुर्याउनेगरी योजना निर्माण भइरहेको बताए । याङ्ग्री र लार्के खोलामा बन्ने हेडवक्र्ससम्म पहुँचमार्ग निर्माण भइरहेको उनको भनाइ छ ।

खानेपानी र सरसफाई तीनवटै तहको साझा अधिकार क्षेत्रभित्र पर्ने भएकाले प्रदेश र स्थानीय तहले पनि पर्याप्त बजेट विनियोजन गर्ने विश्वास व्यक्त गरे । आगामी आर्थिक वर्षका लागि तय भएको खानेपानी मन्त्रालयको बजेट र वार्षिक विकास कार्यक्रमले सबै जिल्ला र निर्वाचन क्षेत्रका मागलाई सम्बोधन गरेको खानेपानीमन्त्री राईले दावी गरे । वार्षिक विकास कार्यक्रममा नपरेका धेरैवटा योजना कार्यान्वयनमा लैजाने तयारी मन्त्रालयले गरिरहेको पनि उनको भनाइ छ ।

एसियाली विकास बैंकको सहयोगमा विभिन्न स्थानीय तहमा खानेपानी आयोजनाको प्रक्रियाअघि बढेको र खानेपानी संस्थानले अघि बढाउने आयोजना पनि रातो किताबमा नपरेको उनको भनाइ छ । मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजना मन्त्रालयले बताइरहेको खानेपानी राईले उल्लेख गरे। प्रतिनिधिसभाको अर्को बैठक भोलि असार १० गते सोमबार बिहान ११ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया