पनौती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि करिब १ अर्ब ६० करोड बराबरको बजेट सार्वजनिक गरिएको छ ।
आइतबार सम्पन्न १५ औँ नगर सभामा नगरप्रमुख रामशरण भण्डारीले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । नगरप्रमुख भण्डारीले यस वर्ष स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकता दिइएको छ ।
पनौती नगरपालिका क्षेत्रभित्र सञ्चालित रोडा, ढुङ्गा उद्योग क्षेत्र विशेष गरी वडा नम्बर २ र १२ का स्थानीयको हित, प्रोत्साहन र स्वास्थ्य सुविधाका लागि नगरपालिकाको ५० प्रतिशत खर्च सहभागितामा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा नगर क्षेत्रभित्रका जटिल रोगबाट प्रभावित व्यक्ति, सुत्केरी, ज्येष्ठ नागरिक र दलितको सेवा सुविधाका लागि निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइएको छ ।
खानी प्रभावित क्षेत्रको पूर्वाधार विकासका लागि विशेष बजेटको व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । हाम्रो नगर धुलोरहित सहरलाई मूर्तरूप प्रदान गर्नका लागि मिनी बुमर, खरिद र पनौतीका दक्षिण क्षेत्रबाट विश्व सम्पदा सूचीमा प्रस्तावित क्षेत्र पनौती ६ र ७ प्रवेश गर्ने प्रत्येक सवारीसाधनको चक्का धुने व्यवस्था मिलाउन निजी लगानीकर्तालाई उत्प्रेरणा गरिनेछ ।