सूर्यगढीले ४२ करोड ५२ लाख २३ हजारको बजेट विनियोजन, दूधमा ५ रुपैयाँ अनुदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
49 Shares
नुवाकोट

सुर्यगढी गाउँपालिकाद्वारा ४२ करोड ५२ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार १५ औँ गाउँ सभामा नीति कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । गाउँ सभा उपाध्यक्ष मञ्जु बुढाथोकीले आर्थिक वर्ष २०८/८२ का लागि बजेट र विनियोजन विधेयक पेस गरेकी थिइन् ।

गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले आगामी आर्थिक वर्षमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि र वातावरण क्षेत्रलाई प्राथमिकता दिइएको बताए ।

गाउँपालिकाले कृषकहरूलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने, सूचीकरण भएका किसानहरूलाई परिचयपत्र वितरण गर्ने, एक गाउँ एक प्राविधिक कार्यक्रमलाई निरन्तरता दिएको छ ।

यस्तै विद्यालयहरूमा निःशुल्क सेनेटरी प्याड वितरण, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूबाट शुल्क लिन प्रतिबन्ध लगाएको छ भने एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने व्यवस्थाका लागि समेत बजेट विनियोजन जनाएको छ ।

गाउँपालिकामा निर्माणाधीन १० शैय्याको अस्पताल निर्माणको अन्तिम चरणमा रहेकोले अस्पतालको लागि आवश्यक जनशक्तिको व्यवस्थापन गरी सञ्चालन गर्ने, गर्भवती महिलालाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रोत्साहन गर्न न्यानो झोला र यातायात खर्चको साथै सुत्केरी भत्तालाई निरन्तरता दिइएको छ । यस्तै गर्भवती महिलालाई स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गर्न प्रोत्साहन गर्ने उद्देश्यले अण्डा वितरण कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ ।

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, मुख्य प्रशासनिक भवन, सडक यातायातको स्तर वृद्धि, ‘एक घर एक धारा’ खानेपानी कार्यक्रमलाई बजेटमा निरन्तरता दिइने उल्लेख छ । कृषि औजार, बीउ बिजन तथा पशु विकासका कार्यक्रमहरू अनुदानलाई बजेटमा राखिएको छ ।

तपाईको प्रतिक्रिया