दोलखाको भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सोमबार नगर सभामा उपमेयर कमला बस्नेतले ८८ करोड ९ लाख ८४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् ।
जसअनुसार नगरपालिकाले चालुतर्फ ५१ करोड ७४ लाख ७९ हजार रुपैयाँ, पुँजीगततर्फ ३६ करोड ५ लाख ५ हजार रुपैयाँ र वित्त व्यवस्थातर्फ ३० लाख रुपैयाँ विनियोजन गरेको छ । भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष सामाजिक विकासमा ४० करोड ४५ लाख ३ हजार, भौतिक पूर्वाधार विकासमा २८ करोड ८५ लाख ४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ५३ लाख २० हजार विनियोजन गरेको छ । यस्तै आगामी वर्षको बजेटमा आर्थिक विकासमा ५ करोड २० लाख ८१ हजार र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ करोड ५ लाख ७६ हजार रुपैयाँ छुट्ट्याएको छ ।
नगरपालिकाले सबैभन्दा बढी शिक्षा क्षेत्रतर्फ २९ करोड ५० लाख १५ हजार बजेट छुट्याएको छ । यस्तै, भवन, आवास तथा बस्ती विकासका लागि १४ करोड ५७ लाख ५४ हजार, सडक, पुल यातायाततर्फ १३ करोड ५० लाख ५० हजार, स्वास्थ्य र पोषण क्षेत्रको लागि ६ करोड ७२ लाख ४१ हजार, कृषिमा १ करोड ९० लाख ६० हजार बजेट विनियोजन गरिएको छ । भीमेश्वरले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ १ करोड ६६ लाख ३५ हजार, श्रम रोजगार तथा गरिबी निवारण क्षेत्रतर्फ १ करोड ५३ लाख ६२ हजार, खानेपानी तथा सरसफाइ क्षेत्रका लागि १ करोड २० लाख ३० हजार, पशु विकास क्षेत्रतर्फ १ करोड १३ लाख ७१ हजार, पर्यटन क्षेत्रमा नगरपालिकाबाट सम्पादन गरिने कार्यका लागि ८२ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
सिचाई क्षेत्रका कार्यक्रम सञ्चालनका लागि ६९ लाख ६० हजार बजेट विनियोजन गरेको भीमेश्वरले उद्योग, वाणिज्य र रोजगार क्षेत्रतर्फ ५९ लाख ९० हजार बजेट विनियोजन गरेको छ । नगर सभामा भीमेश्वर नगरपालिकाको विनियोजन ऐन २०८१ पनि पेस गरिएको छ । चालु आर्थिक वर्ष २०८०र८१ मा भीमेश्वर सञ्चित कोषबाट खर्च हुने गरी संशोधन सहित कुल रकम ९३ करोड १६ लाख १६ हजार ३ सय ४९ रुपैयाँ विनियोजन भएकोमा हालसम्मको अवधिमा ६६ करोड ५१ लाख ९५ हजार ३ सय ९७ रुपैयाँ खर्च भएको छ ।