मरिण गाउँपालिकाले ६३ करोड बजेट विनियोजन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
140 Shares
सिन्धुली

सिन्धुलीको मरिण गाउँपालिकाले ६३ करोड ६० लाख ६३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको दोस्रो गाउँ सभा तथा पाँचौँ अधिवेशनमा पालिका उपाध्यक्ष विमला माझीले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।

चालु खर्चतर्फ कूल बजेटको करिब ६८ प्रतिशत अर्थात् ४३ करोड २० लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ । पुँजीगत शीर्षकतर्फ भने २० करोड ३९ लाख ९५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कूल बजेटको ३२ प्रतिशत हो ।

आफ्नै स्रोतबाट खर्च गर्ने गरी ३२ करोड ४५ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । बाँकी ३१ करोड १५ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सङ्घ र प्रदेशको अनुदानबाट खर्च गरिने उल्लेख छ । जसमा सङ्घीय सरकारतर्फको बजेट २५ करोड ७३ लाख ६६ हजार र प्रदेश सरकारतर्फ पाँच करोड ४१ लाख ४७ हजार रुपैयाँ रहेको छ ।

मरिण गाउँपालिकाले आगामी आवका लागि सङ्घीय सरकारबाट समानीकरण अनुदानमार्फत नौ करोड ७७ लाख रुपैयाँ पाउने भएको छ । यस्तै राजस्व बाँडफाँडमार्फत ११ करोड ८१ लाख, सशर्त अनुदानतर्फ २४ करोड ३३ लाख ६६ हजार र विशेष अनुदानमार्फत एक करोड ४० लाख रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष माझीले सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान ९२ लाख ५३ हजार, ससर्त अनुदान दुई करोड ६१ लाख ४७ हजार, समपूरक अनुदान दुई करोड, विशेष अनुदान ८० लाख र राजस्व बाँडफाँडमार्फत दुई करोड ६१ लाख रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।

आगामी आवका लागि विनियोजित बजेटमध्ये चार करोड ३७ लाख ४९ हजार रुपैयाँ आर्थिक विकासका लागि छुटाइएको छ । यस्तै पूर्वाधार विकासमा आठ करोड ७३ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको उपाध्यक्ष माझीले बताउनुभयो ।

सुशासन तथा संस्थागत विकास शीर्षकमा एक करोड २० लाख ७३ हजार, वातावरण तथा विपद् व्यवस्थापनका लागि एक करोड ५६ लाख ४० हजार रुपैयाँ, सामाजिक विकासतर्फ ३३ करोड ६७ लाख ८९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ११ करोड २४ लाख ७२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका