२०८१ असार ८ गते शनिवारको दिन नगरकोटको शान्ति डाँडामा भव्य रुपमा सञ्चालन भएको “पृथ्वी सुद्धिकरण” पूजामा सरिक भई प्रसाद ग्रहण गरिसकेपछि “रानी झुला पुल” मा राखेको सरसफाइ कार्यक्रम तर्फ हानिने निधो गरी हानियो पुलतिर… सरर ररर… बाइकमा… वडा अध्यक्ष धनबहादुर लामा र म घुम्ती बाटोहरूमा सुसेल्दै र दिनभरिको कार्यक्रमको बेलिबिस्तार गर्दै ।
नगरकोटको सल्लाघारी परिसरमा निर्माण भएर सञ्चालनमा आएको झोलुङ्गे पुलमा लामो समयपश्चात् यात्रा गरेर आनन्द लिने पर्यटकहरूको साथमा मैले पनि पुलमा यात्रा गर्ने सुअवसर मिल्यो । आफ्नै घरको आँगनमा निर्माण भएको पुलको बारेमा मलाई खासै चासो त थिएन तर लामो समयपश्चात् पुल वरपर छताछुल्ल रूपमा छरिएको फोहोर व्यवस्थापन तथा वातावरण सरसफाइ कार्यक्रमको सिलसिलामा अवलोकन गर्ने अवसर जुर्यो मलाई । फोहोर सङ्कलन गरी बोरामा प्याक गरेर नगरपालिकाको गाडीमा हाली दिएँ। सरसफाइ अभियानमा वडा नं. ६ र ७ का वडाध्यक्ष तथा कर्मचारी, नगर प्रहरीका जवान, नेपाल प्रहरीका अधिकृत तथा जवान, स्थानीय सङ्घसंस्थाका प्रतिनिधि, युवा वर्ग, स्थानीय वडावासी लगायत अन्य विभिन्न पक्षबाट प्रशस्त सहभागिता जनाइएको थियो । लामो समयसम्म म यो पुलमा नजानुको कारण पनि यही थियो कि यो पुलको निर्माण कता कता सही ठाउँमा छैन है भन्ने सुरुदेखि लागेको थियो । केही साथीहरूको बिचमा पक्ष र विपक्षमा राम्रै बहस र छलफलहरू पनि नभएका हैनन् । कतिले त मलाई विकास विरोधी र गरी खाएको हेर्न नसक्ने, डाहा गर्ने, ईर्ष्या गर्ने भनेर पनि भन्न भ्याएका थिए । पुलको आवश्यकता कस्तो, किन, कहाँ हुनुपर्छ भन्ने विषयमा पनि केही बुँदाहरू पस्केको थिएँ मैले । यो पुल पर्यटकीय गन्तव्यको लागि मात्रै हो, अरू औचित्य कदापि छैन यसको । पर्यटकीय गन्तव्यको लागि निर्माण गरेपछि पर्यटकीय आधार पनि तयार गर्नु पर्छ है भन्ने मेरो बुझाइ थियो । सुरुमै गरेका कुराहरू अहिले आएर छताछुल्ल देखियो त ! यो त सत्य हो नि….।
हजारौँ पटक त्यही बाटो ओहोरदोहोर गरेर सडकलाई अस्तव्यस्त पार्दै पार्किङ गरेका गाडी र बाइकहरूको भिड हेरेर फर्कने गरेको थिएँ म । यो पुलमा सुरु सुरुमा पुल चढे बापत केही रकम असुल्ने गरेको थियो र साथमा पार्किङको पनि पैसा तिर्नु पर्थ्यो । पछि वरिपरिका सङ्घसंस्था, बुद्धिजीवी, नगरपालिका तथा सरकारी निकायको अनुगमनपश्चात् पुल चढ्न पैसा तिर्नु पर्ने र सडकमा पार्किङ गरेका सवारी साधनको पार्किङ शुल्कको व्यवस्थालाई निषेध गरेको हुनाले हाल कुनै पनि प्रकारको शुल्क तिर्नुपर्दैन ।
पुलको वारी र पारी केही समय अवलोकन गर्दा पारिवारिक पिकनिक आउने पर्यटकहरूको घुइँचो देखिन्थ्यो । यत्रतत्र सबै जना परिवारसँगै ड्राई पिकनिकको मज्जा लिइरहेका थिए । हरेक पाखा, मोड, शीतल छहारी र सडकका किनाराहरूमा पर्यटकहरूले मज्जा लिइरहेको दृश्यहरू देख्दा गर्व गर्न लायकको थियो । सबै पर्यटकहरू भिडियो खिच्न, टिकटक बनाउन, फोटो खिच्न व्यस्त देखिन्थ्यो । उकालो ओरालोमा दौडँदै, पुलमा हिडदै र मुस्कुराउँदै फोटो र भिडियो खिच्नेहरूको भिडले मेरो मनलाई आनन्दित र शान्ति तुल्याई दियो र भित्रभित्रै हर्षित भएँ म । यदाकदा मानसपटल र मेरो हृदयबाट नगरकोटलाई माया गर्ने पर्यटकहरूप्रति आभार व्यक्त गरी रहेँ मैले । सवारी साधन पार्किङ गर्ने स्थल वरिपरि र वारिपारि पुलकै मुखमा यत्रतत्र प्लास्टिक, त्रिपाल बोराले बेरेको छाप्राहरू बेवारिसे अवस्थामा देखिन्थ्यो किन कि हालसालै त्यस क्षेत्रमा फोहोरजन्य वस्तुले सौन्दर्यमा ह्रास र वातावरण प्रदूषणको कारणले गर्दा भक्तपुर प्रशासन, भक्तपुर नगरपालिका, चाँगुनारायण नगरपालिका अन्तर्गत वडा नं। ६ र ७ को विशेष पहलमा त्यस क्षेत्रमा पसल व्यवसाय सञ्चालन गर्न निषेध गरिएको थियो, अझ अर्को महत्त्वपूर्ण कुरा पुलभन्दा ठिक २ सय मिटर तल भक्तपुर नगरवासीले पिउने पानीको मुख्य मुहान रहेको छ र यसै मुहानलाई दूषित बनाएको भन्ने जनगुनासोको आधारमा त्यस क्षेत्रमा वातावरणीय दृष्टिकोणबाट मध्यनजर गर्दै स्वच्छ वातावरणको रूपमा निगरानीमा राखिएको छ हालको लागि । पसल सञ्चालन गर्नेहरूको टहरा प्लास्टिक र त्रिपालले ढाकिएको थियो जुन तान्द्रङतुन्द्रुङ झुन्डिएको थियो, च्यातिएको थियो, फाटेको थियो । यी दृश्यहरूले चाहिँ साह्रै नै नगरकोटलाई गिज्याइरहेको थियो । पाखाभरि पानीको वोतलहरु छरिएका थिए, वियरका वोतलहरु फुटेका र फालिएका थिए, कुरमुरे र चिजवल, बिस्कुटका खोलहरू यत्रतत्र छरिएका थिए । हजारौँ पर्यटकहरूको आगमन हुने स्थानमा व्यवस्थित र हेर्न लायकको एउटा शौचालय थिएन, ओपन ट्वाइलेट भन्दा फरक नपर्ला, पुल निर्माण स्थल भयङ्कर ठाडो भिर भएको हुनाले त्यहाँ कुनै तारका जाली वा बार लगाइएको छैन अहिले पनि । कुनै पनि बेला नसोचेको दुर्घटना घट्न सक्छ । गाडी वा बाइक रोकेर पुलसम्म जाने बाटो दुर्गम पहाडको जस्तै सीमाङ्कन मात्रै रहेछ, पानी परेको अवस्थामा चिप्लिएर फर्कन एकदम गाह्रो छ र झर्न पनि गाह्रो छ । सल्लाघारी भएको हुनाले बाटोभरि सल्लाका पात झरेर ढाकिएको छ भने बाटो झनै चिप्लने हुन्छ सल्लाको पातले । यहाँ आउने पर्यटकहरू पुल चढ्नको लागि मात्र नभएर खोलामा पौडी खेल्न जानेको भिड पनि त्यतिकै देखिन्थ्यो । चिसो र स्वच्छ पानीमा पौडी खेल्ने रहर पनि यो महादेव खोलाले धेरैको धोको पुर्याउदै आएको छ । पुलमा जाने बाटो वरिपरि अस्थायी रूपमा सञ्चालन पसलका मालिकहरूबिच पनि बिचबिचमा घमासान लडाई हुँदै आएको छ । एकले अर्कोको रिस गर्ने र डाहा गर्ने प्रवृत्तिले गर्दा यहाँ नगरकोटको बेइज्जत धेरै तरिकाबाट हुँदै आएको छ । यही झोलुङ्गे पुलबाट लगभग १५० मिटको माथि ९उचाइ० बाट नेपालकै सबैभन्दा लामो जीपलाईन सञ्चालनमा रहेको छ । यी चीजहरू पर्यटकीय गन्तव्यको रूपमा स्थापित भएका हुन् र यसलाई व्यवस्थित र संरक्षित तरिकाले सञ्चालन गर्नु नितान्त आवश्यक छ ।
हाल यहाँ पसल व्यवसाय सञ्चालन गर्न निषेधाज्ञा जारी गरिएको छ भने सबै पसलहरू बन्द छन् । यहाँ मःम, चाउमिन, पानी पुरी, थुक्पा, लाफिङ, पानी, बियर, कोक, फेन्टा, सुर्तीजन्य पदार्थ लगायतका सरसामानहरूको उपभोग गर्न पाइन्थ्यो पहिले । अहिले बन्द छ । अहिले यहाँ चिरेर नुन खुर्सानी दलेर खाने हरियो काँक्रो मात्रै पाइन्छ ।
नगरकोट वासीमा पनि चेतना खुल्नु र खोलाउनु पनि नितान्त आवश्यक देखियो । जसरी पनि कमाउनु पर्छ भन्ने होइन आफ्नो क्षेत्र, गाउँ र सहरको इज्जतमा पनि ध्यान दिनु पर्छ र इज्जत पनि जोगाउनु पर्छ भन्ने भाव मनमा उब्जाउनु पर्छ । यहाँको वातावरण दूषित बन्दै जानुमा पसल व्यवसायी, होटेल व्यवसायी, रेस्टुरेन्ट व्यवसायी र यहाँ आउने पर्यटकहरूको त कदापि गल्ती देख्दिन म ।
गल्ती त त्यो पुलको जिम्मेवारी कसले लिएको छ त्यसको हो । त्यो पुलको मर्मत सम्भारको जिम्मेवारी कसले पाएको छ उसकै हो । त्यो पुल निर्माणमा लगानी कसले गरेको छ उसैको हो । उसो भए यो पुलको सम्पूर्ण जिम्मेवारी सरकारी निकायको हो र सरकारी निकायले लिनु पर्छ । पुल बनेपछि मान्छे आउँछन् र भिड बढ्दै जान्छ । जहाँ भिड हुन्छ त्यहाँ प्रदूषण स्वाभाविक हो । त्यो भिडबाट निस्केका फोहोरजन्य वस्तुको व्यवस्थापन कसरी, कहाँ गर्ने भन्ने अग्रिम योजना चाहिँ मतलब छैन, बजेट मिलाएर ल्यायो, पुल बनायो, अनि सिध्यो ! खै पूर्वाधारतर्फ ध्यान दिएको ?
शौचालय शून्य प्रतिशत छ (खुल्ला मैदान र चौरमा पिसाब फेरेको देखेँ), पानीको व्यवस्था शून्य प्रतिशत । एउटा धारा छैन, नियमित पानी छैन, सुरक्षा शून्य प्रतिशत पुलमा झुण्डेपनि, भिरमा हिडेपनि, ढुङ्गा हाने पनि ।।। जे गर्दा पनि, पर्यटकीय स्थल सुहाउँदो डष्टवीन छैन, इनारमा हाल्ने रिङलाई चाङ लगाएर बनाएको दुई तीन वटा रहेछन् त्यो पनि सबै भरिएर पोखेको अवस्थामा । पुलसम्म जाने बाटो शून्य प्रतिशत, पानी परेको बेलामा पुलमा जान सम्भव छैन । पारिपट्टिको घना जङ्गलमा हुने कुकृत्यहरूको त कुरा गरी साध्य छैनन् रे … के के हो के के हो भनी साध्य छैन ।
लाज लाग्नु पर्दैन हामीलाई ? दैनिक रूपमा हजारौँले भ्रमण गर्ने पुलको वातावरणको अवस्था देखेर लज्जित भएन तपाईँहरू ? म त लज्जित भएँ !
नभनौँ भन्दा पनि केही चाहिँ सुझावको रूपमा भन्नै मन लाग्यो ।
१. यस क्षेत्रलाई व्यवस्थित बनाउने समय तालिका बनाएर निश्चित समय अवधिका लागि त्यस क्षेत्रमा हुने अनैतिक क्रियाकलापहरू आजकै मितिदेखि बन्देज गरौँ ।
२. गाउँ गाउँमा सिंहदरबार पुगिसक्यो …। अब त्यो पुलमा नगरपालिका दरिलो तरिकाले उपस्थित हुन जरुरी देखियो ।
३. त्यस क्षेत्रको सुन्दर आकर्षक व्यवस्थापनको लागि भक्तपुर नगरपालिको पनि त्यतिकै दायित्व छ । हातेमालो गरौँ ।
४. चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाले विशेष बजेट विनियोजन गरी वा अन्य कुनै क्षेत्रबाट भए पनि आर्थिक व्यवस्थापन गरी त्यस क्षेत्रलाई सुन्दर बगैँचा निर्माण गर्ने तर्फ आजैबाट सोचौँ ।
५. बागेश्वरीतर्फको पुलको मुख वरिपरि ५० मिटर बन फाँडेर खुल्ला गरौँ र प्याराफिट बनाउनेतर्फ सोचौँ जहाँ पुल चढ्नेहरू पारी गएर केही समय आराम गर्नेछन् र स्वच्छ हावा लिनेछन्, मनलाई आनन्दित बनाउने छन् ।|
६. नगरकोटतर्फको पुलको मुखबाट १०० मिटर वरिपरि खुल्ला चौर व्यवसाय गर्ने कवलहरू निर्माण गरौँ,
७. पुलको मुखबाट २ सय मिटर तल भिरको छेउ हुँदै बलियो तार बार तुरुन्तै निर्माण गरौँ दायाँबायाँ दुवैतर्फ ।
८. महिला शौचालय ३ वटा र पुरुष शौचालय ३ वटा निर्माण गरौँ र साथमा अपाङ्ग मैत्री पनि ।
९. शौचालयबाट निस्कने फोहोरजन्य बस्तुको रिसाईकल गर्ने व्यवस्था लागू गरौँ ताकि पानीको मुहानमा कुनै पनि प्रकारको फोहोर त्यस क्षेत्रबाट जान नसकुन् ।
१०. भक्तपुरको मूल मुहानदेखि ८०० मिटर माथिसम्म खोलाको दुवै साइडमा तारबार लगाऔँ, खोलामा जान नसकुन् ।
११. पारी पट्टि घना जङ्गल हुनाले जङ्गली जनावरबाट सुरक्षित हुने विधिको व्यवस्था गरौँ ।
१२. नगरकोट तर्फको पुलको मुखबाट पूर्वतर्फ जाने सानो बाटोलाई फराकिलो बनाई छेउछेउमा तार बार लगाउने कार्य गरौँ ।
१३. पिच रोडदेखि पुलसम्म जाने बाटोलाई यथाशक्य ध्यान दिऔँ ।
१४. २४ सै घण्टा सुरक्षाको व्यवस्था गरौँ ।