शंखरापुरले १ अर्ब २६ करोडको बजेट विनियोजन, लगानी सम्मेलन गरिने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
35 Shares
काठमाडौं

शंखरापुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि १ अर्ब २६ करोड २३ लाख ९ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमा चालू खर्च ५६ करोड, ४३ लाख, ९४ हजार ४३२ रुपैयाँ रहेको छ भने पुँजीगत तर्फ ६९ करोड, ५४ लाख, १४ हजार ५६८ रुपैयाँ छुट्ट्याएको छ ।

शुक्रवार नगरपालिकाको दसौँ नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए । नगरप्रमुख रमेश नापितले प्रस्तावित बजेटलाई सभामा निर्माणार्थ पेस गर्दा उपस्थित बहुमत सदस्यको सर्वसम्मतिले बजेट पारित भएको थियो ।

नीति तथा कार्यक्रममा नगरपालिकाका स्थायी बासिन्दालाई स्वास्थ्य बिमामा ५०५ अनुदान, इन्द्रायणी नगर अस्पताललाई स्तरोन्नति, बर्थिङ्ग सेन्टर मार्फत गर्भवती महिलाहरूलाई निशुल्क भिडियो एक्स–रे सेवा प्रदान गरिनेछ ।

यस्तै कक्षा ६ देखि १० तहमा स्वयम् सेवक नगर शिक्षकको व्यवस्था, आगामी तीन वर्षभित्र एउटा माध्यमिक सामुदायिक विद्यालयलाई मेगा विद्यालयको रूपमा विकास गरिने, सिटिईभिटीको सहकार्यमा इन्जिनियरिङ ल्याब स्थापना गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

यसै गरी नगरप्रमुख नापितले एक वडा एक पकेट क्षेत्र कृषक सञ्जाल मार्फत कार्यक्रम सञ्चालन गरिने, गुणस्तरीय बीउ उत्पादन र संरक्षण गर्न समुदायलाई प्रोत्साहन गरिने, किसान परिचय पत्र वितरण गरिने, वडा नं ३ मा रहेको पशु सेवा केन्द्रलाई थप प्रभावकारी बनाउँदै लगिने, पर्यटन सूचना केन्द्र स्थापना गर्ने कार्यलाई अगाडि बढाइने, शंखरापुर नगरपालिका र बैङ्क तथा वित्तीय संस्थाको साझेदारीमा व्यावसायिक स्वरोजगारका कार्यक्रम सञ्चालन गरिने र लगानी सम्मेलन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका