जबजले उद्घोष गरेको ‘जनवादी क्रान्ति’को अबको बाटो के ?


सामन्तवाद र साम्राज्यवादका सबैखाले शोषण उत्पीडनलाई अन्त्य गर्न गरिने नेपाली क्रान्तिको न्यूनतम कार्यक्रम जनवादी क्रान्ति हो । यो नेपाली सर्वहारा श्नमजीवी वर्गहरुले नेतृत्व गर्ने आफ्नै विशेषताले भरिएको नेपाली जनवादी क्रान्ति हो । नेपाली सर्वहारा श्रमजीवी वर्गसँग शत्रु भाव राख्ने नेपाली समाजका सामन्त वर्ग र यो मुलुकलाई सन् १९५० को असमान र अपमानपूर्ण सन्धि लादेर यहाँ अर्ध–उपनिवेशको स्थिति सृजना गर्ने भारतीय विस्तारवाद विरुद्ध गरिने नेपाली मौलिकताको क्रान्ति जनवादी क्रान्ति हो । अहिलेसम्म यो मुलुकलाई १०४ बर्षे जहानियाँ राणाशासन र २४० वर्षदेखि निरङ्कुश सामन्तवादको पन्जाबाट मुक्त गर्न गरिएका जुनसुकै आन्दोलनहरूलाई पनि नेपालको आन्तरिक मामिलामा ठाडै हस्तक्षेप गर्ने भारतीय विस्तारवादले दिल्ली सम्झौतामा लगेर टुङ्ग्याएका छन् । त्यसकारण यो मुलुकको भाग्य र भविष्यको निम्ति तमाम् नेपाली प्रगतिशील जनवादी शक्तिहरूको एकताले भारतीय विस्तारवादको विरुद्ध यहाँ जनवादी क्रान्ति नगरे समाजवाद र साम्यवाद आउने वाला छैन । भारतीय विस्तारवादको प्रत्यक्ष सहयोगमा हुर्केका यहाँका सामन्तवाद र भारतीय विस्तारवादका शोषण उत्पीडनलाई जरैदेखि उखेलेर फ्याँक्नको निम्ति हामी क्रान्तिकारी जनवादी शक्तिहरूले मोर्चा खडा गर्दै निम्न लिखित तीन जन–सिद्धान्तहरूलाई जनवादी क्रान्तिको मार्ग निर्देशित नीतिको रूपमा लिनुपर्छ । १. समाजवादी मुलुक चीनसँगको सहकार्य, २. कम्युनिस्ट पार्टीको सहयोग, ३. किसान–मजदूरवर्गहरुको क्रान्तिकारी मोर्चा ।

समाजवादी मुलुक चीनसँगको सहकार्य

अहिले हामी एक्लैले साम्यवाद नीति अन्तर्गत पर्ने प्रथम चरणको जनवादी क्रान्ति सम्पन्न गर्न सक्दैनौँ । त्यसका निम्ति हाम्रा उत्तर छिमेकी समाजवादी मुलुक चीनको सहकार्य आवश्यक रहन्छ । हिजो चीनले पनि जापानी साम्राज्यवाद विरुद्ध नौलो जनवादी क्रान्ति गर्दा सोभियत वोल्शेभिकहरुको सहयोग लिएकै हो । स्मरण रहोस्, हामी भारतीय विस्तारवादको विरुद्ध समाजवादी मुलुक चीनको सहयोग खोज्दैँछौं तर, हामी भारतीय सर्वहारा श्नमजीवी वर्गहरुको मुक्तिको निम्ति भने सदैव सहयोग गर्न तयार रहन्छौं ।

कम्युनिष्ट पार्टीको सहयोग

कम्युनिस्ट पार्टीमा गोलबद्ध विश्व सर्वहारा श्रमजीवीवर्गहरुको भौतिक र नैतिक समर्थनबिना हाम्रो जनवादी क्रान्ति असम्भव हुनेछ । त्यसमा भारतीय सर्वहारा श्नमजीवी वर्गहरुले अझ नजिकको भूमिका खेल्न सक्नेछ किनकि हामीले पनि इतिहासमा भारत स्वतन्त्र सङ्ग्रामको निम्ति यहाँका श्रमजीवी जनता भारतको पक्षमा नलडेको होइन ? तर, भारतीय विस्तारवादी शासकहरूलाई भने जनवादी क्रान्तिको कुनै पनि हिस्सामा विगतका सामाजिक क्रान्तिहरूमा झैँ सामेल गर्नु हुँदैन । यसले जनवादी क्रान्तिलाई तार्किक निष्कर्षमा पुग्न अवरोध खडा गर्नेछ ।

किसान–मजदूरवर्गहरुको क्रान्तिकारी मोर्चा

नेपाल एक कृषि प्रधान मुलुक भएको कारण यहाँको जनवादी क्रान्ति नितान्त किसान क्रान्ति हो । यो कुरा नेपालका कम्युनिस्ट पार्टीहरूले कदापि भुल्नु हुँदैन । दोस्रोमा यहाँका सहरिया मजदुर वर्गहरू हुन् । त्यसैले, गाउँले किसान र सहरिया मजदुर वर्गको संयुक्त मोर्चा खडा गरी भारतीय विस्तारवादलाई यहाँको कुना कन्दराबाट लखेट्नु पर्छ किनकि २०४६ सालदेखि अहिलेसम्म भारतीय विस्तारवाद नपुगेको ठाउँहरू बाँकी छैनन् । अहिलेको परिस्थितिमा आफ्नै मौलिकताको नेपाली जनवादी क्रान्ति गर्न कुनै दलले सही नेतृत्व गर्न सक्छ भने त्यो जनताको बहुदलीय जनवादले मार्ग निर्देशित नेकपा एमाले हो । यो कसरी पनि हो भने अन्य कम्युनिस्टहरू जस्तै : दश बर्षे जनयुद्ध गरेका माओवादीहरूले माथि उल्लेखित तीन जन-सिद्धान्तहरुलाई आफ्नो जनविद्रोहको क्रममा लागू गरेनन् । त्यसैले, उ पुरानो जनवादी क्रान्ति यानि कि भारतीय विस्तारवादको पक्षमा लागे तर, त्यहाँभित्र रहेका सच्चा कम्युनिस्ट कार्यकर्ताहरू र अन्य कम्युनिस्ट घटकहरूलाई भने हामीले गोलबद्ध गर्दै जानुपर्छ । जो कोही होस् या कुनै राजनीतिक दलहरू हुन्, यदि उसले यी माथि उल्लेखित तीन जन–सिद्धान्तको विरोध गर्छ भने उ वा उनीहरू त्यही भारतीय विस्तारवादका कट्टरपन्थीहरू हुन् भन्ने प्रमाणित हुन्छ । बिना भारतीय विस्तारवादको अन्त्य, नेपाल र नेपाली जनताको भविष्य सुन्दर हुनेवाला छैन । यहाँ हामीले के भुल्नु हुँदैन भने ‘जनताको बहुदलीय जनवाद’ साम्यवाद नीति अन्तर्गतको न्यूनतम कार्यक्रम हो । अहिलेको न्यूनतम कार्यक्रम नयाँ जनवादी क्रान्ति पुरा नहुन्जेलसम्म अधिकतम समाजवादी क्रान्ति सम्पन्न हुन सक्दैन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका