दक्षिण कोरियाको ग्वाङ्जाओ नेपालको पर्यटन प्रवर्द्धन तथा बीटुबी सम्पन्न

काठमाडौँ 

नेपाल पर्यटन बोर्डले सियोल स्थित नेपाली राजदूतावास र कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपालसँगको सहकार्यमा दक्षिण कोरियाको ग्वाङ्जाओ नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गरेको छ । असार ११ गते (२५ जुन २०२४ ) मा दक्षिण कोरियाको ग्वाङ्जाओ बीटुबी बैठकसहित आयोजना गरेको कार्यक्रममा बोल्दै सियोल स्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर पुष्पराज भट्टराईले नेपाली र कोरियाली टुर अपरेटरहरूको समूहले सामूहिक रूपमा आयोजना गरेका कार्यक्रमले दुवै देशबीचको पर्यटन प्रवर्द्धन हुने धारणा राखेका थिए ।

नेपाल र कोरिया गणतन्त्र कोरिया बीचको नेपाल-कोरिया कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठका अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले नेपालको पर्यटन प्रवर्द्धनका लागि कोरियाली र नेपाली अपरेटर दुवै मिलेर काम गर्न आग्रह गरे । उनले नेपाल र कोरिया बीचको द्विपक्षीय पर्यटन प्रवद्र्धनका लागि नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दै नेपाल र कारिया बीच छिट्टै नियमित उडान हुनेमा आफु आशावादी रहेको जानकारी दिए ।

त्यसैगरी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयरले नेपाल दूतावास र कोटानसँगको साझेदारीमा बोर्डले लामो समयपछि नेपाल पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गरेको जानकारी दिँदै यस प्रकारका कार्यक्रमले दुई देशलाई पर्यटन प्रवर्द्धनको सम्भावनालाई उजागर गर्न फराकिलो मञ्च प्रदान गर्ने बताए । सो अवसरमा उहाँले ‘डेस्टिनेसन नेपाल’ र ‘नेपालको पर्यटन क्षेत्रमा लगानीका अवसर’ विषयका दुईवटा प्रस्तुति दिएका थिए ।

ग्वाङ्जुस्थित नेपालका अवैतनिक वाणिज्य दूतावास श्री जेओन, सुङ ह्युनले कोरियामा यस्ता कार्यक्रम आयोजना गरेकोमा नेपाली प्रतिनिधिमण्डलप्रति हार्दिक आभार प्रकट गर्दै नेपालको अनुपम संस्कृति, एड्रेनालाईन रश साहसिक र प्राचीन प्राकृतिक सौन्दर्य प्रतिको आफ्नो लगाव रहेका बताए । उक्त कार्यक्रममा कोटानले लक्की ड्र मार्फत आमन्त्रित तीन कोरियाली टुर अपरेटरहरूलाई नेपाल भ्रमणका लागि टुर प्याकेजहरू समेत पुरस्कारका रुपमा प्रदान गरेको थियो।

समापनका अवसरमा बोल्दै कोटानका अध्यक्ष अमरबहादुर शाहीले सबै कोरियाली टुर अपरेटरहरूलाई नेपालको सौन्दर्य र यहाँका जनताको न्यानो आतिथ्य अनुभव गर्न नेपाल भ्रमण गर्न आग्रह गरे। कार्यक्रममा नेपाली ट्राभल एण्ड टुर कम्पनीहरु लगायत ६५ भन्दा बढीको सहभागिता रहेको थियो । यस कार्यक्रम अघि, नेपाल सेल्स मिसन मे २०२३ मा सियोल र बुसानमा आयोजना गरिएको थियो ।आगामी २७ जुन २०२४ मा यस्तै बि २ बि कार्यक्रम सिओलमा आयोजना समेत हुनेछ ।

तपाईको प्रतिक्रिया