भेडी गोठले बुकीमा चहलपहल, बेँसी सुनसान

बागलुङ

जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिरालो जमिन भेडाका बथानले ढाकिएका थिए ।  जेठ दोस्रो सातादेखि किसानले पशुचौपाया बुकी उकाल्न थालेपछि अहिले तल्लो क्षेत्र सुनसान बनेका छन् । यतिबेला सोडेडाँडा, ढोरपाटन देउराली, पातीहाल्नेलगायत ठाउँमा गाईभैंसी, भेडाबाख्रा, भोटे कुकुरसँगै गोठाला किलादाम्ला र खर्चबर्च बोकी बुकी उक्लिरहेका भेटिन्छ । हरेक वर्ष बर्खाको समय बुकी ु९लेक० र हिउँदको समय बेँसी ९औल०मा बस्ने पश्चिम बागलुङका गोठालाको परम्परा नै हो । एकै परिवारले सयौंको सङ्ख्यामा पशुचौपाया पाल्ने हुँदा बाह्रै महिना एकै ठाउँमा बसेर घाँस र दाना पु¥याउन नसकिने हुँदा यहाँका स्थानीय हरेक वर्ष यस्तै गर्छन् ।

हिउँदमा बेँसी क्षेत्र रमाइलो हुने गरेकामा बर्खा लाग्न थालेपछि बुकीमा पशुचौपाया र गोठालाको चहलपहल बढेको छ । अबको एक सातामा बुकी भेडाका बथानले भरिन्छन् भने बेँसी क्षेत्र रित्तो हुन्छन् । अघिल्लो वर्ष असोज र कात्तिकमा बेँसी झरेका गोठाला सात महिनापछि लेक उक्लिन थालेका हुन् भने अबको करिब पाँच महिना उनीहरुले लेकमै बस्ने छन् । यतिबेला बेँसीमा घाँस सकिएको र लेकमा प्रशस्त पाइने भएकाले गोठाला दुई हजार दुई सय मिटरदेखि चार हजार पाँच सय मिटरको उचाइसम्म पुग्ने गर्छन् ।

बर्खा भरी बुकीमा पालेका भेडाबाख्रा दसैँ ताका सहर बजारसम्म लगेर बिक्री गर्ने यहाँका गोठालाले त्यसबाट राम्रो आम्दानी गर्ने गरेका छन् । निसी खोलाको रिग, खानीखोला, तमान खोलाको सोलेडाँडा, ढोरपाटनको माथिल्लो बुकी, जलजला लगायतका क्षेत्र गोठालाहरूको मुख्य बासस्थान हो । रिग र खानी खोलामा रोल्पा र रुकुमका गोठाला पनि आउने गर्छन् । हिउँदको समय बुकीमा हिउँ पर्ने र जाडो हुनेहुँदा बेँसी ओर्लनु यहाँको चलन हो । अहिले लेक चढ्ने भेडी गोठाला साउन भदौतिर एकरदुई पटक खर्च लिन गाउँ झर्ने गरे पनि बाँकी समय बुकीमै बिताउने गरेका निसीखोला गाउँपालिका–६ का गोरखबहादुर घर्तीमगरले बताए। बुकीमा भएका बेला बिरामी परे मात्रै बेँसी झर्ने गरेको उनको भनाइ छ । “आठ÷नौ सय भेडाबाख्रा छन्, चार दिन अगाडि जेठानले बुकी लगेर जानुभयो, मलाई अलि सञ्चो थिएन र अहिले बल्ल ठीक भएर खर्च लगेर जाँदैछु, अब असोजमा आउने हो । अब खर्च सिकियो वा  दुःख बिमार लाग्यो बने मात्रै बेँसी झर्ने हो”, घर्तीमगरले भने ।

यहाँका किसान लेकबेँसी गरेर हजारौंको सङ्ख्यामा पशुपालन गर्छन् ।  उनीहरुले आफ्नै बलबुतामा परम्परागत पशुपालन पेसा अँगाल्दै आएका छन् । पछिल्लो समय सडक बनेपछि केही सहज भएको छ तर राज्यले आफूहरुलाई कुनै सहुलियत नदिएको धेरैको गुनासो छ ।  पूर्वी रुकुमको भूमे गाउँपालिका–१ का हर्कबहादुर बुढामगरले आफ्नै बलबुतामा सयौँ पशु वस्तु पाले पनि सरकारबाट कुनै सहुलियत नपाएको बताए । “पहिले त निकै कष्ट हुन्थ्यो, अहिले सडक बनेपछि केही राहत भएको छ । त्योभन्दा बाहेक सरकारबाट केही पाएका छैनौँ । मध्यपहाडी लोकमार्ग भेडी गोठ नजिकै पर्ने हुँदा यात्रा गर्ने यात्रुले बथानमा आएर भेडा किनेर लैजान्छन्, बाँकी दशैंतिहारमा सहर बजार लिएर आम्दानी गरिरहेका छौँ । यही हाम्रो आम्दानीको स्रोत हो”, उनले भने ।

असार लागेपछि बुकी बीसौं हजार भेडा बाख्राले भरिएको बुढामगरले बताउनुभयो । गाउँबाट बुकी पुग्न करिब चार दिन लाग्ने गरेको उनले सुनाए । “यो भेडा बाख्राले बुकी ढाकिने सिजन हो, कति छन् गन्नै सकिँदैन । गोठाला पनि धेरै हुन्छन्, कसको बथानमा कति भेडा छन्, त्यो स्वयं गोठालालाई मात्रै थाहा हुन्छ”, बुढामगरले भने, “पोहोर साल जेठमै बुकी गएको थिएँ, यस वर्ष अलि ढिला पानी परेकाले असार लागेपछि मात्रै माथि उक्लिन थालेका छौँ, अब असोजमा भेडा बेच्न बजार झर्ने हो ।”

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया