जलकुम्भी आदेशहरु

कुमारी लामा साहियत्यकार
0 Shares
निबन्ध

जब धूवाँको उडाइसँगै छोटिँदै–छोटिँदै अन्तिम सर्को मात्र बाँकी रहुन्जेल औँलाको चेपमा झुन्डिएको चुरोटलाई देख्छु, लाग्छ त्यो चुरोटभन्दा फरक छैन हाम्रो जीवन । खै केको केको कापमा अल्झिएको छ । त्यसैगरी बिस्तारै–बिस्तारै सकिँदै, छोटिँदै जाँदैछ, क्रमिक रुपमा । एकदिन, अर्को दिन अनि अर्को दिनहरु, हप्ताहरु हुँदै, महिनाहरु र वर्षहरु हुँदै समयको उमेर बढेको बढेकै छ, आफ्नै रफ्तारमा ।

हामी समयको ठिक विपरीत घटेको घटेकै छौं, प्रत्येक पल प्रत्येक सेकेन्डसँगै । चुरोटको छोट्याइजस्तै जीवन । यही छोटो जीवन पनि आफ्नो शैलीमा बाँचांै भन्यो, बनै ढाक्ने बनमारा जत्तिकै झ्याङ्गिएर हामीलाई चारैतिरबाट बेरिदिन आइपुग्छन् अनेक नियम, कानुन, अर्ति–उपदेश र आदेशहरु । डाक्टर नरम स्वरमा गह्रौँ आदेश दिन्छन्–‘चुरोट नपिउनू ।’

के चुरोट नपिउने चाहिँ कहिल्यै नमर्ने हो र ? मैले चुरोट नपिउँदा के केही रोगै नलाग्ने, सधैं बाँचिरहने हो र ? चुरोट पिउनु र नपिउनुमा के नै फरक छ र ! पिए पनि नपिए पनि छोटिँदैछ, आखिर जीवन । व्यर्थको उपदेश छाट्छ बिरामीको अगाडि डाक्टर अनि लुसुक्क बाहिर निस्किएर आफै चुरोट पिउन थाल्छ । हुनुपर्ने मात्रै सुरूवात रहेछ हरेक कुराको चाहे दिनको होस् या जीवनको, प्रत्येक पल बिताइसँगै तय हुन्छ यात्रा अन्ततिरको ।

आहा ! काम सकियो; आहा ! आजको दिन बित्यो; आहा ! अब ऊसँग भेट्न यति दिन मात्रै बाँकी छ । आहा ! दशैँ आउनै लाग्यो । आदि–आदि आहाहरुमा अल्झिएको जीवनले टुङ्गोतिर लम्किरहेको दिनहरुको पत्तै पाउँदैन । आहा आहा आहा !!! कति धेरै उत्साहहरु अथवा हरे ! यो साल यस्तो भयो । हरे ! यस्तो गर्न पाएको भए हुन्थ्यो । ज्या ! यस्तो पो भएछ । आदि–आदि ज्या र हरेहरुका मन दुखाइहरुमा अल्मलिँदा अल्मलिँदै चिल्ला गालाहरुमा समयका रेखाहरु कोरिइसकेको, काँधहरु बाँसजस्तै नुहिँदै–नुहिँदै गएको पत्तै नहुने रहेछ । कुहिरोजस्तै जताततै बाटो छेक्न आइपुगेका आदेशहरुलाई पन्छाउँदा पन्छाउँदै अन्ततिर धकेलिइ सक्दो–रहेछ जीवन ।

यी अनगिन्ती निस्सासिँदो आदेशहरुको लामो पुच्छर समाएर हिँडिरहन पटक्कै मन छैन । डाक्टरले हाम्रो मनको व्यथा बुझ्दै बुझ्दैन । ऊ त बुझ्छ केवल शरीरको व्यथा र भटाभट ओकलिदिन्छ, आदेशका फिलिङ्गाहरु । यी रापिला आदेशहरुको तामेलीले मलाई भित्रभित्र पोलिरहेको छ, झन् बढी बिरामी बनाएको छ । आदेश शब्द मात्र पनि काफी छ मेरो घाँटी थिचेर उकुसमुकुस पारिदिन । आदेशहरुको सम्झनासम्मले पनि मेरो मन–मुटु पूरै भारी बनाइदिन्छ । मैना सुनार बेपत्ता पारिनुको आदेश, बेनजीर भुट्टोलाई बमले उडाइनुको आदेश, मलालालाई गोली ठोकिनुको आदेश … … उफ् ! कति डरलाग्दा यी सब आदेशहरु । तर हामी आदेशै आदेशको जञ्जिरमा जकडिएका छौँ । कुनै सहज जस्ता छन् आदेशहरु, कुनै आदेश नै होइन जस्ता पनि छन् यी निर्दयी आदेशहरु । किन यति धारिला, चोटिला, त्रूmर र अमानवीय छन्, यी आदेशहरु । आदेश दिनेहरु मात्र आदेश दिन जान्दछन् । उनीहरुलाई के थाहा त्यो भोग्नेको पीडा कति नमीठो छ भन्ने !

आदेशको पालनाले ध्वस्त भएको एउटा जीवन भर्खर पढी भ्याएँ –लिन्डा लबलेस । उनको जीवनको भोगाइ, अर्डियल भन्ने अटोबायोग्राफीले नमज्जाले दिमाग र मुटु हल्लाइदियो । पुस्तक पढाइको यात्राको आजसम्मको सबैभन्दा नमिठो अनुभव हो, यो मेरो । निकै दिन लाग्यो लिन्डा लबलेसले भोगेको जीवनका ती साह्रै नारकीय दिनहरुको झझल्कोबाट बाहिर निस्कन । अब म सहजै कल्पना गर्न सक्छु कति गाह्रो थियो होला लिन्डा स्वयंलाई ती दिनहरु… ! लाग्छ, उनका ती दिनहरु एउटा सामान्य आइमाईले बाँच्ने खाले जीवन नै थिएन । ती आदेशहरुको पालना गर्दा–गर्दा एउटी सोझी केटी बेश्यादेखि पोर्न स्टार, सेक्स स्लेभ सबै भइन् । चक ट्रेनर, आफ्नै श्रीमान्का आदेशहरु थिए, ती लिन्डालाई । विश्वास केवल शब्द मात्रै हुन् कि जस्तो लाग्छ । विश्वास कसलाई गर्न सकिन्छ त ? अनि के मानवता भन्ने केही चीज बाँकी छ त हामीमा ?

शङ्कर लामिछाने हाबी हुँदै छन् यस बखत–

“सिर्फ एक गुण आजको मानिसले हराएको छ, र त्यो हो मानिसको गुण ।” (एब्स्ट्र्याक्ट चिन्तन प्याज)

शङ्कर सही हुन् जस्तो लाग्थ्यो । आज लिन्डाको जीवन पढेपछि त उनको बुझाइ धारिलो हतियारले सही ठाउँमा प्रहार गरे जस्तै लाग्दै छ । लिन्डाको मात्रै होइन हाम्रै चेली चरिमाया तामाङको जीवनका पन्नाहरु मिडियाभरि पढिरहँदा मानव अस्तित्वमाथि निकै ठूलो प्रश्न चिह्न खडा गर्दै छ, मेरो मन । लिन्डाको जस्तै उनले पनि ती डरलाग्दा आदेशहरु पालना गर्नुप¥यो भयानक सपनाजस्तो उनका जीवनका केही वर्षहरुमा । आखिर ती आदेशहरु नै थिए चरिमायालाई सामान्य जीवनबाट नारकीय जीवन बाँच्न बाध्य गराउने ।

थाहा छैन मभित्र मानवीय गुण छ कि छैन । शङ्कर लामिछाने आफैमा पनि मानवीय गुण थियो या थिएन । विगतमा डहाउ कन्सन्ट्रेसन क्याम्प खडा गर्न आदेश दिनेहरुभित्र मानवता थियो या थिएन ? थाहा छैन । म एउटा सामान्य मानिस यस्ता कुराहरु पटक्कै बुझ्दिनँ । मेरो दिमागले बुझ्ने र मनले पीडाको महसुस गर्ने भनेको चरिमायाको नारकीय जीवनको भोगाइको पीडा, लिन्डाको सिसाजस्तै टुक्रा–टुक्रा भएर फुटेको जीवनले घोच्दाको पीडा मात्र हो । नियाल्दै छु, एउटी आइमाईको जीवनको उत्तारचढावहरु । चाहे चरिमाया भएर मेरो सामु आउन् या लिन्डा लबलेसको पुस्तकको रुपमा, दुवै जीवनहरुले आदेशहरुको कालो अनुहारलाई दुरुस्त देखाइदिएको छ ।

शङ्कर लामिछानेको कुरा फेरि जोड्न मन लाग्यो ।

निकै अघि नै उनले मानिसमा नभएको गुण भनेकै मानिसको गुण हो भनी औँल्याएका थिए । त्यही गुणको अभाव आज पनि उत्तिकै व्याप्त छ, जो पहिले थियो । शंका लाग्छ के हामी नाम मात्रका मानिस त होइनौँ ? शारीरिक बनावट त मानिसकै छ अझसम्म । तीनवटा कान, चारवटा आँखा, केही भएको छैन । तर बदलिएको एउटै कुरा छ, हामीभित्रको मन । कठोरताको पनि पराकाष्ठा बोकी हिँडिरहेका हामी मानिसहरु । जायज नाजायज सबै आदेशहरु बेहोर्दै अघि बढिरहेका छौँ, हामी । डहाउको कन्सन्ट्रेसन क्याम्पलाई जर्मनहरु देशकै लागि कालो धब्बा र सरमको रुपमा लिन्छन् । तर उत्तर कोरियामा हिट्लरको कन्सन्ट्रेसन क्याम्पलाई पछि पार्ने बन्दीगृहहरु सञ्चालनमा छ भन्छन् । कल्पना बाहिरका सजायका भागिदार बनाइएका छन् रे आइमाई, लोग्ने मानिस, र अबोध केटाकेटीहरुलाई त्यहाँ । आखिर यी सबै इतिहासका काला धब्बाहरु आदेशहरुकै परिणामहरु हुन् । आदेशहरु दिइए मानव जगत्लाई ध्वस्त पार्न विगतमा अनि आज पनि आदेशहरु दिइँदैछन् । कसैको घरपरिवार र जीवन ध्वस्त पार्न, कसैको मन र दिमागलाई विक्षिप्त पारिदिन भने कतै हँुदाखाँदाको जीवन नै मेटाइदिन ।

जताततै जलकुम्भीजस्तै फैलँदै गरेको देख्छु, आदेशहरु । हावामा मिसिएका छन्, अदृश्य आदेशहरु जो श्वास फेराइसँगै हामीभित्र पस्दैछ । हामी स्वीकार्दै छौँ । जानेर, नजानेर, चाहेर वा नचाहेर प्रवेश गर्दैछन् । डेरा जमाउँदै छन्, यी आदेशहरु हामीभित्र । हामी नतमस्तक भई पालना गर्दैछौँ ।

 मैना सुनार बेपत्ता पारिनुको आदेश, बेनजीर भुट्टोलाई बमले उडाइनुको आदेश, मलालालाई गोली ठोकिनुको आदेश … … उफ् ! कति डरलाग्दा यी सब आदेशहरु । तर हामी आदेशै आदेशको जञ्जिरमा जकडिएका छौँ ।

यस्तै आदेशहरुको भुमरीमा परेर बिथोलिएको जीवन समीप पुग्दा डरलाग्दो सपना मात्र हो । यो भनी मानिदिन मन लाग्छ । मेरो मनले सपना हो भन्ने मान्न चाहे पनि भोग्नेको अँध्यारो तीतो यथार्थले मलाई नमीठो गरी घोच्न आइपुग्छ । म चाहेर पनि त्यो सपना मात्र हो भनी मानिदिन सक्दिनँ । मलाई बेपत्ताले भागिदिन मन लाग्छ, यी कठोर आदेश पालनाका विकृत परिणतिहरुबाट । तर फेरि ती जीवनहरु आँखा अगाडि धरहराजस्तै गजधम्म खडा भइदिन्छन् । मैले देख्न नचाहँदा नचाहँदै पनि देखापर्छन्, ती पीडित जीवहरु विभिन्न रुपरङ्गहरुमा । मेरो सामु आदेशको कोर्राले हानेर क्षतविक्षत भएका रगताम्मे अनुहारहरु निरन्तर ऐठन पार्न आइदिन्छन् । प्रत्येक बिहान पत्रिकाहरुको फ्रन्टपेजमा सिरियाको सडकहरुमा ढल्दै गरेका आइमाई, केटाकेटी र लोग्नेमानिसहरुका तपतप रगत चुहिँदै गरेका लासहरु भएर । ती आदेशहरु उस्तै तर्साउने समाचार भएर अफगानिस्तानमा मारिँदै गरेका हाम्रा दाजुभाइहरुको नाम बोलिदिँदै कानमा चट्याङ पार्छन्, रेडियो टेलिभिजनहरुमार्फत । यो कहिल्यै नटुङ्गिने त्रूmर आदेशहरुले एकातिर धेरै लिन्डा र चरिमायाहरुलाई दास बनाइरहेका छन् । भने अर्कातिर गजराज गुरूङ र सिद्धार्थ कुँवरहरुलाई गोली ठोकिँदैछ ।

म सानो मन भएकी मान्छे चुरोट पिउन नपाएकोमा डाक्टरको आदेशलाई सराप्दै घण्टौँ भुतभुताउँदै बस्छु । तर यहाँ आफ्नै जीवनले दिएको आदेशहरुको पालना गर्न बाध्य धेरै रहेछन् । किस्ताबन्दीमा सास फेर्न बाध्यहरु । किस्ता बुझाउन नसकेको दिन सास फेर्न पनि बिर्सनुपर्ने जीवनहरु… । यी सारा घटनाहरुका साक्षी हामी केवल ढुङ्गाका थपना जस्ता, मुकदर्शकहरु, अरुको पीडालाई टुलुटुलु हेरिरहने हामी….।

आदेशहरुको पालना अब नसानसामा दौडिरहेको छ । आदेश अब आदेशजस्तो पनि लाग्न छाडिसक्यो । रुप फेरि–फेरि हामी सामु आइदिन्छन्, यी आदेशहरु । थाहै नपाई, ख्यालै नराखी निरन्तर फेरिरहेको श्वासजस्तै निरन्तर आपूmभित्र लिँदै पालना गर्दै बाँचिरहेका छौँ, हामी । घरी कुनै व्यक्तिले दिन्छ आदेश, घरी संगठनले, घरी देशले अनि प्रायजसो चालै नपाइने गरी आफ्नै जीवन स्वयंले दिने रहेछ, आदेश । नसानसामा रगतजस्तै बगिदिने आफ्नै जीवनले दिने आदेशहरुले बिना सङ्केत नै आदेशहरुको भारी बोकाइदिने रहेछ । मनले एउटा आदेश दिन्छ, दिमागले अर्कै केही गर्न लगाउँछ । बिचरा मन र दिमागको बीचमा च्यापिएको शरीर अन्योल अन्योलमै दुवैको आदेशहरुको पछि जीवनभर हाड घोटिरहन्छ । अन्तिममा हातलागे शून्य । एउटा जीवनले जीवन बुझ्नै बाँकी हुन्छ तर दिन क्रमशः छोटिँदै गइरहेको हुन्छ ।

महत्वाकांक्षाहरुको वायुपंखी घोडाले छुट्टै रफ्तारमा दौडिन आदेश दिन्छ, मन भन्छ कति दौडिनु आखिर कहाँ नै पुग्नु छ र … ! तर सपना र आकांक्षाको पखेटा लागेको दिमागले हिचकिचाउँदै गरेको मनलाई घिस्याउँदै आफ्नो पछि लगिजान्छ । मन दुख्दै बिथोलिँदै भित्रभित्रै शिथिल हँुदै भए पनि उसको पछि लागिदिन्छ । हजारौँहजार यस्ता दुःखी मनहरु अमेरिकाको रेस्टुरेन्टहरुमा, अस्ट्रेलियाको होटलहरुमा अथवा लन्डनका व्यस्त क्याफेहरुमा यान्त्रिक जीवन बाँच्न बाध्य छन् । यहाँ भइरहेको छ, आफ्नै दिमागको आदेशको पालना । जूनजस्तै सुन्दर सपनालाई आफ्नो पोल्टोभरि भर्न आकांक्षाहरुले दिएको आदेशको पालना ।

यी आदेशहरु कति निर्दयी ???

जति–जति यी आदेशहरुको कुरा गर्छु उति–उति म आफै पनि उसैको चंगुलमा परेको आभास पाउँदैछु । निकै समय भइसकेछ यसै गरी दिमागको महत्वाकांक्षी आदेशहरुको दौडाइमा आपूmलाई दौडाएको । मुटुको न्यानो ढुकढुकीमा हरपल उर्लिरहने हरेक अनुभूतिहरुलाई दिमागको लकरमा कैद गरेर । भो अब तोडिदिन चाहन्छु यी आदेशहरुको श्रृंखला र मुक्त गरिदिन चाहन्छु कैद भएका मेरा सारा अनुभूतिहरुलाई …।

डाक्टर, भो मलाई तिम्रो आदेश पालना गर्नु छैन अब । कम्तिमा मलाई मेरो इच्छाअनुसार त बाँच्न देऊ, केही समय । तिमीले दिएको औषधीको थुप्रोले पुरिएर धेरै समय भयो उकुसमुकुस हुँदै बाँचेको । त्यसमाथि पनि यी सारा छेकबारहरु खडा गरेर किन मेरो जीवन यति कष्टकर पारिदिँदै छौ, तिमी । मर्नु त छँदै छ हौ । किन यसरी तिमीसँगको प्रत्येक भेटमा अपराधीलाई जस्तो केरकार गर्छौ । औषधी छुटायौ कि ? चुरोट त पिएका छैनौ नि ? जाँड रक्सी ? आदि–आदि । तिम्रा ती सोधाइहरुले अब त म आफ्नै नजरमा अपराधी ठहरिन लागिसकेँ ।

मान्दिनँ अब म ती तिम्रा आदेशहरु । मलाई मेरो स्वतन्त्रता चाहिन्छ । खान, लाउन, बोल्न, हेर्न, सुन्न, देख्न, बुझ्न, लेख्न, पढ्न सबै थोक गर्न मलाई आफ्नै खाले स्वच्छन्दता चाहिएको छ । मेरो आफ्नै मनले पहिल्याएको बाटो हिँड्ने स्वतन्त्रता, मैले चाहेको बेला हाँस्न र रुन पाउने स्वतन्त्रता । मलाई मन लागेको बेला निर्धक्क चुरोट पिउन पाउने स्वतन्त्रता ।

थाहा छ मलाई आफ्ना गल्तीहरु । दिमागको वेगसँगै दौडिएर आकांक्षाहरुको पूmलबुट्टे संसारमा पुग्न निकै लामो समय दौडिरहेँ । निकै दौडिएँ । सानो सपना देख्ने, साना कुराहरुमा खुसी हुने म ठूलो सपना, ठूलो ठाउँ, ठूलो देश, सबै ठूला थोकहरुको पछि दौडिरहेँ । आफैलाई बिर्सिएर, आफैलाई भुलेर, आफ्नै मनलाई पन्छाएर लागिरहेँ, केवल ती ठूला सपनाहरुको पछि । आखिर के रहेछ र ठूलो सपनामा ! ठूलो ठाउँमा, ठूलो देशमा ! सिवाय प्लास्टिक जीवन, दौडाइ, एकपछि अर्को आकांक्षाहरुको बाढी, सिवाय यान्त्रिक जीवन… … … !!!

अहिले लेखाजोखा गर्दैछु । आफैले भोगेका दिनहरुको नापतौल जोड घटाउ गर्दा लाग्छ, यो ठूलो ठाउँले सबै थोक त खोसेछ मबाट । यी ठूला सपनाहरु पूरा गर्न आफ्नै जीवनले दिएको आदेशहरुले झन्डै मेरो अस्तित्व नै मेटाइदिएछ । लगभग म को हुँ भन्ने नै बिर्साइदिएछ । यो ठूलो देशका यी ठूला स्काइक्रेपरहरुले, ठूला सपिङ मलहरुले, ठूला ब्राण्डहरुले । पुग्यो अब त यो ठूलो सहरले उब्जाइदिने आकांक्षाहरुका ठूलठूला आदेशहरुको पछि लाग्न । धूलोमै मिसिने यो जीवनलाई मेरै गाउँ धादिङको धुलौटे बाटोहरुमा हिँडाउँदा हुन्न र ? हावामै अडिएका यी श्वासहरुमा काठमाडौँको धमिलो हावा मिसिन दिँदा के फरक पर्छ र ?

अब त म यी सबै थरी आदेशहरुको पञ्जाबाट बाहिर निस्कन चाहन्छु । मनतिर फर्कन्छु, अब । आदेशहरुको सिलसिलालाई टुङ्ग्याएर अर्को जीवनमा फड्को मारेका धेरै जीवनहरु जस्तै, परिवारहरु जस्तै, ठाउँहरु जस्तै र धेरै देशहरु जस्तै म पनि एउटा फड्को मार्न चाहन्छु । म मजस्तो भएर श्वास फेर्न चाहन्छु ।

तपाईको प्रतिक्रिया