क्रियाशील पत्रकारहरु महासंघको नेतृत्वका लागि जागरुक

सैलु्ङअनलाइन संवाददाता
686 Shares
काठमाडौँ 

असार २२ गते हुने पत्रकार महासङ्घ निर्वाचनमा आफ्नो नेतृत्व सुनिश्चित गर्न जागरूक भएका छन् । बुधवार देशभरका क्रियाशील पत्रकारहरू सङ्घ सङ्गठनका नेतृत्वहरुबीचको भेलाले त्यसका लागि सबैसँग छलफल वार्ताका लागि संवाद टोली पनि बनाएको छ ।

श्रमजीवी÷स्वरोजगार पत्रकारहरूले महासङ्घमा आगामी नेतृत्व सुनिश्चित गर्न देशभरका सक्रिय तथा समावेशी पत्रकारहरू एकताबद्ध हुनुपर्ने छलफलमा सहभागी पत्रकारका नेताहरूले बताए । महासङ्घको तीनै तहको निर्वाचन क्रियाशील पत्रकारहरूका लागि गौरव र चुनौती दुवै भएकाले आफूहरू जिम्मेवार भएर निर्धारित समयमै निर्वाचन सम्पन्न गरी क्रियाशीलहरूले नेतृत्व गरेको महासङ्घ बनाउन हरतरहले लागिपर्ने प्रतिबद्धता सहभागीहरूले जनाएका थिए ।

सो बैठकमा सहभागी क्रियाशील पत्रकारहरूले छलफलपछि जारी एक प्रेस नोटमा नेपाली पत्रकारितामा मिडिया सङ्कट, क्रियाशील पत्रकारका सुरक्षा चुनौती र पेसागत सुरक्षा सङ्कट चुलिएकाले यसको समाधानका लागि क्रियाशील पत्रकारहरूको एकता अपरिहार्य आवश्यकता बनेको बताइएको छ । यही आवश्यकता पूरा गर्न सबै श्रमजीवी, व्यावसायिक पत्रकारको साझा समावेशी मोर्चा पत्रकार महासङ्घ बन्न जरुरी भएको सो विज्ञप्तिमा भनिएको छ ।

‘महासङ्घ नेतृत्व र अध्यक्षमण्डलले आफ्नो भूमिका निर्वाह गर्न नसकेकोमा नेतृत्वप्रति पत्रकारहरूले गम्भीर प्रश्न उठाएका छन् । निर्धारित समयमै सदस्यता विवाद निरूपण गरेर निर्वाचन सम्पन्न हुने विश्वास आम पत्रकारहरूमा दिनु जरुरी छ । अतः विश्वासको वातावरणसहित महाधिवेशन सम्पन्न गरेर पत्रकार महासङ्घको गरिमा रक्षा गर्न सिन्डीकेटधारीहरुलाई परास्त गर्न जरुरी छ । त्यसका लागि देशभरका सम्पूर्ण पत्रकारहरूलाई यो स्वतन्त्र अभियानमा सहभागी हुन हार्दिक आव्हान गर्दछौँ,’ प्रेस नोटमा उल्लेख छ ।

क्रियाशील पत्रकारहरूको बृहत्तर छलफल गरी पत्रकार र पत्रकारितासँग आबद्ध सबै सङ्घ सङ्गठन र पक्षसँग वार्ता, संवाद र सहकार्यका गठित संवाद टोलीमा योगेन्द्र शाही, मोहनकुमार सिंह, योगेश खपाङ्गी, प्रवीण चौधरी, यकिना अगाध, विदूर ढुङ्गेल, गोपाल पौडेल र मनिषा अवस्थी रहेका छन् ।

तपाईको प्रतिक्रिया