काठमाडौँ । नेकपा एमालेबाट सरकारमा सहभागी रहेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।
काँग्रेस र एमालेबिच नयाँ गठबन्धन बनाएर जाने सहमति भएपछि एमालेले सरकार छोड्न लागेको हो । मन्त्रीहरूले राजीनामा दिनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली अहिले प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने र प्रधानमन्त्रीले राजीनामा नदिएमा एमालेका मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइएको छ ।
एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन् ।
एमाले अध्यक्ष ओली बालुवाटारमा
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
कांग्रेससँग गएराती राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेपछि ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न बालुवाटार पुगेका हुन् ।
उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेससँग भएको सहमतिको जानकारी गराउदै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने बुझिएको छ ।
कांग्रेससँगको सहमति अनुसार आजै एमालेका मन्त्रीहरुले राजीनामा दिदै छन् र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारिक घोषणा गर्ने तयारी गरेको छ ।
एमाले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संबिधान अनुसार प्रधानमन्त्रीले ३० दिन भित्र विश्वासको मत लिन सक्ने व्यवस्था रहेको छ । तर बहुमत सांसद विपक्षमा भएपछि उनले राजीनामा दिन सक्ने अनुमान गरिएको छ ।