युएसएडको यात्रा कपिलवस्तुबाट

बुटवल

नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग, युएसएड (यूएसएआईडी-USAID) ले लुम्बिनी प्रदेशका विभिन्न स्थानमा लर्निङ फर डेभलपमेन्ट आउटरिच क्याम्पेन यात्रा सुरु गरेको छ । शुक्रबारदेखि कपिलवस्तुको चार नम्बरबाट  यूएसएआईडीले नेपालमा गरिरहेका सहयोगबारे जानकारी दिन यात्रा सुरु गरेको हो ।

शनिबार जसअन्तर्गत आइतबार दाङको लमही, सोमबार बाँकेको कोहलपुर र मंगलबार नेपालगन्जमा विभिन्न कार्यक्रम हुँदैछन् ।६३ वर्षयता नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको यूएसएआईडीले काम गर्दै आएको छ । यसले लुम्बिनी प्रदेशका सबै जिल्लामा स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण तथा उत्थानशीलता, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीयस्तरका २० भन्दा बढी सक्रिय परियोजना सञ्चालन गरिरहेको छ । युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रमार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पुर्यायो भने थप ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिएका थिए । सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रहरूमा साढे एक अर्ब अमेरिकी डलर ९१ खर्ब ९६ अर्ब नेपाली रुपैयाँभन्दा बढीको सहयोग प्रदान गरेको छ ।

स्मरण रहोस् नेपालको पहिलो राजमार्ग (सन् १९५५), काठमाडौंमा पहिलो नर्स ट्रेनिङ स्कुल (सन् १९५६)मा युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएका हुन् । युएसएडको सहयोगमा नै सन् १९५९ मा देशको पहिलो आधुनिक टेलिफोन एक्सचेञ्ज र रेडियो नेटवर्क स्थापना भएका हुन् । दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मुलनमा सहयोग गरेको युएसएडले शान्ति र लोकतन्त्रलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यस्तै उसले कोभिड–१९ सङ्कटको समयमा नेपाललाई खोप, आवश्यक वस्तु र प्राविधिक सहायता प्रदान गरेको थियो । युएसएडको सहयोगबाट मुख्यगरी कुनै समय मानिस बस्न नसक्ने देशको भूभागलाई कृषि फस्टाउन योग्य बन्न, साक्षरता दर र औषत आयु दोब्बर बनाउन, बाल मृत्युदर उल्लेखनीय रूपमा घटाउन महत्वपूर्ण योगदान पुगेको छ ।

आज बुटवल, लमही, कोहलपुर र नेपालगन्जमा पनि यात्राको टोली पुग्दैछ । काठमाडौंका विभिन्न स्थानमा यस्तै कार्यक्रम गरेर यात्रा समाप्त हुनेछ ।

 

तपाईको प्रतिक्रिया