नेपाली खाना तथा पेय पदार्थको अध्ययन अनुसन्धान तथा सङ्कलक रैथाने सेफ प्रेमलाल घिसिङको शब्द र गायक एवं सङ्गीतकार फुलकुमार बमजनको सङ्गीतमा बनेको म्युजिक भिडियो ‘नेपाली रैथाने खाना’ सार्वजनिक भएको छ ।
शुक्रवार तामाङ कुदापमा एक कार्यक्रम आयोजना गरी नेपाल टेलिभिजनको महाप्रबन्धक एवं लेखक फुलमान बलले सो म्युजिक भिडियोको सार्वजनिक गरेका हुन् ।
सेफ घिसिङले अध्ययन अनुसन्धान गरेको खानाको परिकारलाई बमजनले म्युजिक भिडियोमा प्रस्तुत गरेका हुन ।
गीतमा गायक बमजन र गायिका समिना लोले स्वर भरेका छन् । यस्तै गीतको सङ्गीत संयोजन पवनवाङ लामाले गरेका छन् ।
यसै गरी भिडियो डिका गुरुङले छायाङ्कन र सुरज लामाले सम्पादन गरेका छन् ।
भिडियोमा गीतले नेपाली रैथाने खाना र बालीको महत्वको बारेमा बोलेको छ । सेफ घिसिङले एक सय एक दिने रैथाने खाना खोजीको अध्ययन अनुसन्धान गरेका अनुसन्धानमूलक भिडियोहरू समावेश गरिएको छ ।
कार्यक्रमको बलले सेफ प्रेमलाल घिसिङले बिगत ३ वर्षदेखि नेपाल टेलिभिजनमा ‘नेपाली स्वाद’ कार्यक्रम चलाउँदै आएको बताए । अझै यो कार्यक्रम निरन्तर रहेको बताउँदै सिर्जनालाई बधाई दिन्छु, महाप्रबन्धकले बलले भने, ‘पुस्तकमा पनि ल्याउदैछ भन्ने सुनेको छु । त्यो सफल होस कामना गर्छु ।’ उनले त्यस कार्यक्रमले नेपाली खाना कसरी तयारी गरिन्छ भनेर सीप र ज्ञान दिँदै आइरहेको छ । उनको यो गीतले अझै यो कर्यक्रमलाई सहयोग पुग्ने बताए ।
यस्तै कार्यक्रममा रोशी गाउँपालिकाका पूर्वअध्यक्ष डिबि मोक्तानले रैथानेले खानाले जाती र पहिचानको लागि योगदान दिइरहेको बताउँदै सबैले सबैबाट प्रवर्द्धनका लागि एक हुनुपर्ने बताए।
यस्तै तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका कार्यसमिति सदस्य ज्ञानेन्द्र ग्लानले विदेशी खानाले नेपाली रैथाने खानालाई ओझेलमा पारेको बताए । उनले भने,‘रैथाने खानालाई बचाउनुपर्छ । हामीले स्थानीय उत्पादनलाई विश्व बजारमा लैजानुपर्छ ।’
यसै गरी व्यवसायी एवं खेलाडी सुस्मिता तामाङले रैथाने खानालाई उत्पादन र प्रमोसन गर्नुपर्ने बताइन् । नेपालमै केही गरेर अघि बढ्ने लक्षकासाथ अघि बढेकोले आफूले आफ्नै व्यवसायमा रैथाने खानालाई प्राथमिकतामा राखेर उत्पादन गर्ने बताइन् ।
हरेक सेफ र किसानहरूलाई हौसला मिलोस् र नेपाल सरकारलाई दबाब दिनको लागि यो गीत लेखेको सेफ प्रेमलाल घिसिङको भनाइ छ । उनले भने,‘राज्यले नेपालको मौलिक, लोक, सांस्कृतिक तथा रैथाने खानपानलाई बजारमा ल्याउन नदिने विदेशी खानपानलाई मात्र प्रोत्साहन गर्ने भएकोले सरकारलाई यस्तो कदम रोकी नेपाली खानपानलाई प्रथामिकता दिनको लागि सरकारलाई सुझाव दिनको लागि यो गीत ल्याएको हो।’
आफू क्यान्सरजस्ता प्राणघातक रोगसँग लडिरहँदा बेडमै बसेर लेखेको यो गीतले पक्कै पनि सरकारलाई छेट लग्ने छ, उनले भने ।
सेफ घिसिङले चौरासी व्यञ्जन, खाने कथा, रैथाने चुल्हो जस्ता विभिन्न नेपाली खानपानको कार्यक्रम गरेर सरकारलाई दबाब दिँदै आएको छ ।
उनले आफुलाई बिरामी पर्दा सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद पनि दिएको छ ।
सेफ घिसिङको सुस्वास्थ्यको कामना !