यूथ क्रिएसन नेपालले ‘फेस अफ तामाङ किड्स- २०२४’ को अडिसन खुल्ला भएको छ । शुक्रवार स्हेनोर हाउस बौद्ध जोरपाटीमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएका हुन् ।
तामाङ बालबालिकाहरूको अनुहारलाई विश्वसामु पुर्याउने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता तामाङ इतिहासमै पहिलो पटक भएको आयोजक संस्थाका अध्यक्ष रबी लामाले जानकारी दिए ।
तामाङ किड्समा छानिएकाहरूलाई वरिष्ठ कोरियोग्राफर रोजिन शाक्यले कलाकारिता सम्बन्धी ग्रुमिङ्ग तथा र्याम्प वाल्क विषयक प्रशिक्षण दिइनेछ ।
यस्तै तामाङ चलचित्रका नायक अमिर दङ्गले तामाङ सम्बन्धी ग्रुमिङ्ग गर्दै डान्स कोरियोग्राफर सम्मेलनमा आयोजकले जानकारी दिए ।
तामाङ समुदायको कला संस्कृति, भाषा, भेषभुषा, रहनसहन, बालबालिकाहरूमा निहित अन्तर्निहित प्रतिभा, आत्मविश्वासको विकास, व्यक्तित्व निर्माण लगायतका महत्त्वपूर्ण पक्षबारे ग्रुमिङ गराउने आयोजक संस्थाका अध्यक्ष लामाले बताए ।
उनका अनुसार तामाङ समुदायका बालबालिकाहरूको सामाजिकीकरण, सशक्तीकरणमा योगदान दिने लगायतको महत्त्वपूर्ण उद्देश्य यस कार्यक्रमले राखेको छ ।
प्रतियोगितामा ६ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरूले सहभागिता जनाउन पाउनेछन् । कार्यक्रममा सहभागीहरूले व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि विकासका साथै समग्र स्टेज प्रस्तुतीकरण सम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन् ।
कार्यक्रममा विजेता, उपविजेता लगायत विभिन्न विधामा सहभागीहरूलाई पुरस्कृत गरिने जनाइएको छ । फारम अनलाइनमार्फत पनि भर्न सकिनेछ र दर्ता शुल्क एक हजार र प्रशिक्षण शुल्क १३ हजार रुपैयाँ तोकिएको छ ।
पत्रकार सम्मेलनमा तामाङ कलाकार सङ्घका अध्यक्ष विशाल काल्तान, नायक एवम् निर्देशक अमिर दोङ, नेपाल तामाङ सांस्कृतिक घेङका अध्यक्ष छेवाङ तेन्जिङ लामा, म्हेन्दोमाया कलाकार सङ्घका अध्यक्ष आरम्भ तामाङ लगायतको उपस्थिति रहेका थिए ।