लमहीमा तेस्रो युएसएड यात्रा सम्पन्न

लमही, दाङ

 

नेपालको समृद्धिका लागि भइरहेको योगदान तथा पहलबारे जानकारी दिन अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सुरु गरेको तेस्रो यात्रा दाङको लमहीमा सम्पन्न भएको छ । आइतबार लमहीको बसपार्कमा आयोजित कार्यक्रममा स्थानीयको सहभागितामा सांस्कृतिकलगायत विभिन्न प्रस्तुति गरिएका थिए । लुम्बिनी प्रदेशमा युसएडको सहयोगमा भएका विभिन्न कार्यक्रमको बारेमा जानकारी दिन कपिलवस्तुको वाणगंगाबाट सुरु भएको यात्रा बुटवल हुँदै लमही पुगेको हो ।

सोमबार बाँकेको कोहलपुर र मंगलवार नेपालगन्जमा यस्तै कार्यक्रम हुँदैछन् । युएसएडले स्वास्थ्य, शिक्षा, आर्थिक वृद्धि, वातावरण, लोकतन्त्र, अधिकार र सुशासनका क्षेत्रहरूमा राष्ट्रिय र स्थानीय स्तरका विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको छ ।
संयुक्त राज्य अमेरिका र नेपालबीचको दौत्य सम्बन्ध झन्डै ८ दशकदेखि रहँदै आएको छ ।  युएसएडले विगत ६३ वर्षभन्दा लामो समयदेखि नेपालको स्वास्थ्य, शिक्षा, आर्थिक विकास, कृषि र विपद् न्यूनीकरणमा साझेदारी गर्दै आएको छ । अमेरिकी जनताद्वारा प्राप्त हुँदै आएको अनुदान सहयोगले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

युएसएडले सन् २०२३ मा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिका कार्यक्रमार्फत १० लाखभन्दा बढी महिलाहरूको जीवनमा प्रत्यक्ष योगदान पुर्यायो भने ५० लाख महिलाहरूले विभिन्न कार्यक्रममार्फत अप्रत्यक्ष रूपमा लाभ लिएका थिए । सन् २००० देखि युएसएडले नेपालको विकासका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालिकाको सशक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चार तथा व्यवसाय विकासका क्षेत्रहरूमा साढे एक अर्ब अमेरिकी डलर (१ खर्ब ९६ अर्ब नेपाली रुपैयाँभन्दा बढीको सहयोग प्रदान गरेको छ ।

स्मरण रहोस् नेपालको पहिलो राजमार्ग (सन् १९५५), काठमाडौंमा पहिलो नर्स ट्रेनिङ स्कुल (सन् १९५६) मा युएसएडको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएका हुन् । युएसएडको सहयोगमा नै सन् १९५९ मा देशको पहिलो आधुनिक टेलिफोन एक्सचेञ्ज र रेडियो नेटवर्क स्थापना भएका हुन् । दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मुलनमा सहयोग गरेको युएसएडले शान्ति र लोकतन्त्रलाई सहजीकरण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

त्यस्तै उसले कोभिड–१९ सङ्कटको समयमा नेपाललाई खोप, आवश्यक वस्तु र प्राविधिक सहायता प्रदान गरेको थियो । युएसएडको सहयोगबाट मुख्यगरी कुनै समय मानिस बस्न नसक्ने देशको भूभागलाई कृषि फस्टाउन योग्य बन्न, साक्षरता दर र औषत आयु दोब्बर बनाउन, बाल मृत्युदर उल्लेखनीय रूपमा घटाउन महत्वपूर्ण योगदान पुगेको छ ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया