राजपाका सांसद साह पक्राउ

0 Shares
काठमाडाैं

जनकपुरस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा राष्ट्रिय जनता पार्टी (राजपा)का नेता तथा सांसद प्रमोद साहलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओखलढुङ्गा जान लागेका बेला साहलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनका अनुसार पक्राउ लगत्तै शाहलाई आजै जनकपुर पठाइएको छ ।

जहाज उडाउन ढिलाइ गरेको भन्दै साहले सोमबार बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको प्रहरीले जनाएको छ । साह सर्लाही क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वा्चित सदस्य हुनुहुन्छ । राजपाले भने पक्राउको विरोध गरेको छ ।

यसैबीच सांसद साहको रिहाइको माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्यसमिति सर्लाहीले सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरेका छन् । राजपा पार्टी कार्यालयबाट शुरु भएको विरोध प्रदर्शनमा सहभागी नेता, कार्यकर्ताले बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि पुगी नाराबाजीसमेत गरेका थिए ।

ठगी मुद्दामा कारागार चलान

ठगी मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका दोलखाको साविक गौरीशङ्कर गाविस घर भई काठमाडौँ महानगरपालिका–६ बस्ने पेम्बा दोर्जे शेर्पा आज कारागार चलान भएका छन् । ठगी मुद्दामा सर्वाेच्च अदालतको आदेशबाट एक वर्ष कैद र ११ लाख रुपैयाँ जरिवाना सुनाइएका शेर्पा फरार हुँदै आएकामा सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।

आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले आजै डिल्लीबजार कारागार चलान गरिएको सीआईबीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका