चितवनको राप्ती नगरपालिकाको उपमेयर देवेन्द्र लामाले नगर अधिवेशन चाँडोभन्दा चाँडो गर्न माग गरेको छ ।
उपमेयर लामाले विज्ञप्ति जारी गरी मेयर शमसेर लामाको हट र तानाशाही प्रवृत्तिका कारण कार्यपालिका बैठक र विधेयक अधिवेशन समेत हुन नसकेको बताए ।
उनले भने,‘मेयरको गैर जिम्मेवारी भूमिका रहँदा असार १० मा हुनुपर्ने नगर सभा हुन नसकेको हो ।’
उनले ज्ञापन पत्रमा लेखिएको छ, ‘कार्यपालिका सदस्यहरू र नगर सभाका सदस्यहरूले यथा समयमा कार्यपालिका बैठक र नगर सभा गर्नका लागि प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई समेत पटक पटक ज्ञापन पत्र, अल्टिमेटम र प्रेस विज्ञप्ति जारी गर्नु भएको ब्यहोरा अवगत गराउँदछु ।’
विज्ञप्तिमा भनिएको छ, ‘समग्र नगरको विकास नै ठप्प भएको अवस्थामा ५० जना भन्दा बढी नगर सभा सदस्यहरूले उपरोक्त माग दाबी गर्दै सम्मानित उच्च अदालत पाटन हेटौडामा प्रमुख र म उपप्रमुख समेतलाई प्रतिवादी बनाई मुद्दा दायर गर्दा समेत प्रमुखज्यूबाट नगर सभा बोलाउने तर्फ चासो नदिँदा दुःख लागेको छ । यस किसिमको हर्कत कार्यपालिका, नगर सभा र आम नागरिकवासीहरू प्रतिको अवहेलना र अपमान गरेको ठहर मैले गरेको छु ।’
उनले नगर सभा गराउनका लागि आम राप्ती नगरवासीहरूसँग क्षमा याचना गर्दै तत्काल नगर सभा आव्हान गर्न दबाब सिर्जनाका लागि सम्पूर्ण नगरवासी बुबा-आमा, दिदी-बहिनी तथा दाजुभाइहरूमा अनुरोध गरेका छन् ।
नगरप्रमुख शमशेर लामाका अनुसार हामी नगर सभा नगर्ने भन्ने छैन, कार्यकक्ष खोलेको दुई घण्टामा नगर सभा गर्न तयार रहेको बताए ।
‘जब कार्यकक्ष बन्द र मुद्दा हाल्नुभयो तब सबै काम गर्ने वातावरण मिलेन’,उनले भने,‘अघिल्लो वर्ष मुद्दा मामिलामा गएपछि काम कारबाही नै भएन ।’
उनले मेरो कार्यकक्ष बन्द गरेपछि महत्त्वपूर्ण कागजात त्यही भएकोले केही गर्न सकिएन । मलाई हिजो उपमेयरले राजश्व अनुमान बुझाएको छ । बजेट सीमा तयार भएकोले सहज वातावरण बनाएमा नगर सभा गर्न तयार रहेको उनले बताए ।