संस्कृत माध्यमिक विद्यालय रानीपोखरीका विद्यार्थीले नेपालका सामुदायिक विद्यालयमै पहिलोपटक संस्कृत नमूना संयुक्त राष्ट्रसङ्घ आयोजना गरेका छन् ।
तीन दिनसम्म चल्ने कार्यक्रमको आज दरबार हाइस्कूलस्थित संस्कृत माविमा आयोजित समारोहमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरे । उनले यस्ता कार्यक्रमले विद्यार्थीको नेतृत्व क्षमता विकास गर्न सहयोग पुग्ने उल्लेख गर्दै कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
त्यसअवसरमा काठमाडौँ उपत्यकाका २५ विद्यालयका दुई सय २५ विद्यार्थीको सहभागिता थियो । विद्यार्थीले संयुक्त राष्ट्रसङ्घका छ वटा विशिष्टिकृत संस्थाको नमूना अभ्यास गर्ने छन् । यसबाट विद्यार्थीले समूहकार्य, अनुसन्धान, संसदीय प्रणाली सिक्न सक्नेछन् ।
कार्यक्रममा सहभागी भएपछि विद्यार्थीले आफूमा भएको प्रतिभा प्रस्फुटन गर्न सक्ने विश्वास गरिएको छ । विद्यार्थीको आत्मविश्वास बढाउन पनि यस्ता कार्यक्रमले सहयोग पुग्ने जनाइएको छ ।
कार्यक्रमका लागि संयुक्त राष्ट्रसङ्घले पनि सहयोग गरेको जनाइएको छ । यस्ता कार्यक्रमले विद्यार्थीको चौतर्फी विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको प्रधानाध्यापक शिवराज अधिकारीले बताए । संयुक्त राष्ट्रसङ्घका सञ्चार निर्देशक सिम्रिका शर्माले विद्यार्थीको क्षमता वृद्धिका लागि यस्ता कार्यक्रमलाई प्रवद्र्धन गरिएको जानकारी दिए ।