बागमती प्रदेशमा नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने लगभग निश्चित भएको छ । काङ्ग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा सरकार बन्ने भएको हो ।
प्रदेशमा सरकार चलाउने सम्बन्धमा तीन प्रदेशमा एमाले तीन प्रदेशमा काङ्ग्रेस र मधेस प्रदेशमा मधेस दलले नेतृत्व गर्ने सहमति भएका थिए । सोही अनुरूप बागमतीमा काङ्ग्रेसबाट लामा मुख्यमन्त्री बन्ने पक्का भएका छन् ।
२०७४ को निर्वाचनमा तेस्रो शक्ति बनेको काँग्रेस यो पटक बागमतीको पहिलो दल हो । ३७ सांसद रहेको काँग्रेसलाई २७ सिट भएको एमालेले साथ दिँदा ११० सदस्यीय प्रदेशसभामा ६४ सिट हुन आउँछ । राप्रपा पनि सकारात्मक रहेको र हाम्रो नेपाली पार्टीले समेत साथ दिने अवस्थामा लामा ८९ सांसदको समर्थनमा मुख्यमन्त्री बन्नेछन् ।
एमालेबाट पहिलो मुख्यमन्त्री डोरमणि पौडेल र पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य भइसकेका छन् । एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र माओवादी केन्द्रबाट शालिकराम जम्कट्टेल मुख्यमन्त्री बनेको बागमतीमा पहिलो पटक प्रदेशमा बाहुल्य रहेको तामाङ समुदायका लामा मुख्यमन्त्री बन्न लागेका छन् ।
बागमतीमा तामाङ समुदायबाट लामा पहिलो पटक मुख्यमन्त्री बन्न लागेका हुन् । प्रदेशको कुल जनसङ्ख्याको २०.५४ प्रतिशत तामाङ रहेको यो प्रदेशमा तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ ।
गत २०७९ को निर्वाचनमा नुवाकोटको प्रतिनीधिसभा २ को ख बाट निर्वाचित लामा काँग्रेस संसदीय दलको नेतामा चयन भएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवा निकट लामा पार्टीभित्र सन्तुलनकारी नेताका रूपमा परिचित छन् । संसदीय दलको निर्वाचनमा लामासँग पराजित इन्द्र बानियाँले पनि मुख्यमन्त्रीका लागि लबिङ गर्न खोजेका थिए । तर नेतृत्वले अहिले लामाको विकल्प नरहेको जवाफ दिएसँगै बानियाँ पनि लामालाई सफल बनाउने योजनामा छन् ।
आदिवासी जनजाति बाहुल्य बागमतीमा तामाङ समुदायका लामालाई अघि सार्दा आगामी दिनमा हुने चुनावी अभियानमा पनि सहज हुने देउवाको विश्लेषण छ ।
नुवाकोटबाट प्रदेशसभा सदस्य निर्वाचित भएका लामा यसअघिका सरकारमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री भइसकेका छन् ।