‘आइबिएम’को विद्यालय कार्यक्रम नेपालमा

काठमडाैं

विश्व प्रसिद्ध प्रविधि कम्पनी ‘आइबिएम’को विद्यालय कार्यक्रम नेपालमा ल्याइएको छ । भारतको चर्चित शिक्षा–प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन इ–लर्निङले कक्षा ५ देखि १२ कक्षा सम्मका विद्यार्थीका लागि तयार पारिएको (आइबिएम) कार्यक्रम भित्र्याएको हो ।

विद्यार्थीमा प्रविधिको पहुँच अभिवृद्धि गर्नुका साथै उद्यमशीलताको विकास गर्ने उद्देश्यले आइबिएम कम्पनीले तयार पारेको विश्वस्तरको विद्यालय कार्यक्रम ल्याइएको इ–लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले जानकारी दिए । “यस्तो विश्व प्रसिद्ध टेक कम्पनीको कार्यक्रम नेपालमा ल्याउन पाउनु हाम्रो लागि गौरवको विषय हो”, उनले भने, “अहिले सूचना प्रविधिको व्यापक विकाससँगै यसका चुनौतीहरु देखापरेका छन् । हामीले हाम्रा बालबालिकालाई चुनौतीका सामना गर्नसक्ने र आइटीको नवीनतम् प्रविधिहरुको ज्ञान हासिल गर्ने बनाउन जरुरी छ ।”

‘आर्टिफिसियल इन्टेलिजेन्स’, ‘साइबर’ सुरक्षा र ‘ब्लकचेन’ गरी तीन वटा सूचना प्रविधिका क्षेत्र समेटेर नेपाललगायत दक्षिण एसियामै पहिलोपटक सुरु गरिएको यस कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात कोर्स समावेश छन् । यो कोर्स लिन सुरुवाती चरणमा प्रति विद्यार्थी मासिक रु आठ सय ५० देखि माथिल्लो कोर्षका लागि दुई हजार एक सय ५० शुल्क तोकिएको छ ।

‘आइबिएम’को विद्यालय कार्यक्रमबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का अध्यक्ष कुमार घिमिरेले नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन आइबिएम उपयोगी हुने बताए ।

सूचना प्रविधि विज्ञ विनोद ढकालले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति अभिवृद्धि गर्न सरकारले अघि सारेको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणालाई कार्यक्रमले मद्दत पुग्ने विश्वास व्यक्त गरे। ‘आइबिएम’ विद्यालय कार्यक्रम नेपालका सल्लाहकार डा सुभाष प्याकुरेलले कार्यक्रममार्फत नेपालीले विश्वबजारको बौद्धिक वृत्तमा प्रवेश गरी देशको अर्थतन्त्रमा टेवा पुग्न सक्ने धारणा राखे ।

प्रविधि कम्पनीमध्ये ‘आइबिएम’ सबैभन्दा बढी (एक लाख २२ हजारभन्दा बढी) युएस पेटेन्ट आफ्नो नाममा दर्ता गरेको कम्पनी हो । सन् १९८१ मा विश्वमै पहिलो व्यक्तिगत कम्प्युटर बजारमा ल्याएको आइबिएमले संसारको सबैभन्दा उच्च गतिको कम्प्युटर निर्माण गरेको छ । कम्पनीमा आबद्ध कर्मचारीले विभिन्न आविष्कारका लागि छ वटा विश्वप्रसिद्ध नोबेल पुरस्कार पाइसकेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका