एनआरएनए चुनाव आज, कसले मार्ला बाजी ? पन्त कि आचार्य

0 Shares
काठमाडाैं

गैर आवासीय नेपाली संघ (एनआरएनए) को मतदान आज बुधबार हुने भएको छ । ४२ पदका लागि हुने निर्वाचनको लागि मनोनयन दर्ता विहान ८ बजेदेखि १२ बजेसम्म रहेको निर्वाचन समितिका सदस्य कुलप्रसाद पाण्डेले जानकारी दिए ।

उनले भने, ‘दिउसो ३ बजेबाट मतदान सुरु हुनेछ । मतदान सकिएको एक घण्टाभित्र नतिजा सार्वजनिक गरिनेछ ।’

नवौँ एनआरएनए विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन होटल हायातमा मंगलबार बिहानैबाट मतदाताको भीड लागेको छ । ४२ पदका लागि २५ सयको हाराहारीमा मतदाता रहेको पाण्डेले जानकारी दिए ।

१२ पदका लागि ४२ प्रतिनिधि

सम्मेलनले अध्यक्ष एक जना, उपाध्यक्ष ५ जना (एक महिलासहित), महासचिव १ जना, सचिव २ जना, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १।१ जना निर्वाचित हुनेछन् ।

प्रत्येक क्षेत्रीय समितिबाट १।१ जना गरी ६ जना क्षेत्रीय संयोजकहरु विश्व सम्मेलनबाट निर्वाचित हुनेछन्।

क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वा्चित हुनेछन्। विधान बमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजकका लागि निर्वाचन हुनेछ ।

एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २।२ जना क्षेत्रीय उपसंयोजक छानिने छन्। उत्तर-दक्षिण अमेरिका र ओसेनियाबाट १।१ जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुनेछन् ।

अध्यक्ष पदमा उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य छन् । अध्यक्षका प्रत्यासी पन्तलाई नेकपा निकट र आचार्यलाई कांग्रेसनिकट ठानिएकाले अहिलेको निर्वाचनलाई कांग्रेस भर्सेस कम्युनिष्टका रुपमा हेरिएको छ ।

पन्त प्यानल

दुई/दुई पटकसम्म उपाध्यक्षमा बनेका जर्मनी निवासी व्यवसायी कुमार पन्तले यसपटक अध्यक्षको दाबी गरेका छन् । उनका समूहबाट ५ उपाध्यक्षमा डा. बद्री केसी (रसिया), हिक्मत थापा (अफ्रिका), सोनाम लामा (अमेरिका), अर्जुनकुमार श्रेष्ठ (बेल्जियम) र धर्मराज अधिकारी (अष्ट्रेलिया) छन् ।

महिला उपाध्यक्षमा सपिलाराज भण्डारीले उम्मेदवारी दिने भएकी छिन् ।

प्रत्येक क्षेत्रबाट १÷१ जनाका दरले ६÷६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चुनिने निर्वाचन समितिले जनाएको छ ।

यसैगरी महासचिवमा बेलायत निवासी प्राध्यापक डा. हेमराज शर्मालाई अघि सारेको छ । सचिवमा अमेरिका निवासी गौरी जोशीबारे निर्णय गरेको भए पनि शिवकुमार बरुवाल (बेल्जियम) र मध्यपूर्वका राजेन्द्र कुमार शर्मा (आरके) मध्ये एकलाई उतार्ने प्रयास भइरहेको उनका निकट स्रोतले जनाएको छ ।

कोषाध्यक्षमा जापानका महेशकुमार श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन् । सह-कोषाध्यक्षमा लोकप्रसाद दाहाल (बेल्जियम), गोबिन्दप्रसाद गौतम (रसिया) र एसी शेर्पा (अमेरिका) ले दाबी गरेका छन् ।

आचार्य प्यानल

बेलायत निवासी व्यवसायी कुल आचार्य आफ्नो टिमसहित चुनावी मैदानमा उत्रिएका छन् ।

आचार्यको समूहबाट पाँच उपाध्यक्षमा डा. केशव पौडेल (अमेरिका), मन केसी (अष्ट्रेलिया), नरेन्द्र भाट (मध्यपूर्व) र रबिना थापा (अमेरिका) लाई अगाडि सारिएको छ ।

यस्तै महासचिवमा बेल्जियम निवासी व्यवसायी जानकी गुरुङलाई अघि सारेका छन् । यस्तै वर्तमान सहकोषाध्यक्ष सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका