बहादुरसि‌ंह लामा तामाङ समुदायकै पहिलो मुख्यमन्त्री

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
1568 Shares
मकवानपुर (हेटौँडा)

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता र केन्द्रिय सदस्य बहादुरसिंह लामा (तामाङ) मुख्यमन्त्री बनेका हुन् ।

उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

को हुन् नवनियुक्त मुख्यमन्त्री लामा ?

नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघको राजनीति गर्दै पार्टी राजनीतिमा होमिएका बहादुर सिंह लामा हाल कांग्रेस केन्द्रीय समिति सदस्यको भूमिकामा छन् । लामा २०२७ कात्तिक ८ गते नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मनकामनामा जन्मेका हुन् ।

सामान्य परिवारमा जन्मिएका लामा सानै उमेरदेखि अब्बल र हक्की स्वभावका थिए । लामाले गाउँकै स्कुलबाट आधारभूत तहको शिक्षा हासिल गरे भने माध्यमिक तह अध्ययन नुवाकोटको सदरमुकाम विदुरबाट पूरा गरे । यस्तै उनले काठमाडौंको शंकरदेव क्याम्पसबाट स्नातकसम्मको उच्चशिक्षाको अध्ययन पूरा गरेका छन् ।

उनले २०४३ मा नेविसंघको सदस्यता लिएका थिए भने शंकरदेव क्याम्पस इकाई सदस्य पनि भए । २०४५ सालमा नेविसंघ नुवाकोटको क्षेत्रीय सभापति भएका उनी पछि कांग्रेस नुवाकोटको जिल्ला उपसभापति भए ।

२०५४ को स्थानीय तहको निर्वाचनमा नुवाकोटको तत्कालीन मनकामना गा।वि।स अध्यक्षमा निर्वाचित भएका लामा पार्टीको १३ औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य भएका थिए । यस्तै १४ औँ महाधिवेशनमा पनि उनले केन्द्रीय सदस्यमा निरन्तरता पाए ।

२०६४ सालमा नुवाकोट क्षेत्र नम्बर–३ बाट संविधानसभा सदस्य पदको निर्वाचनमा पराजित भएका उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएका थिए । सो निर्वाचनमा उनले नेकपा माओवादी केन्द्रका तत्कालीन महासचिव पोस्टबहादुर बोगटीलाई भारी मतले हराएका थिए । ०६४ सालमा भने उनी बोगटीसँग नै पराजित भएका थिए ।

२०७४ मा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका लामा २०७९ मा भने बागमती प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । बागमतीको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका उनी अहिले मुख्यमन्त्री बन्न सफल बनेका हुन् । लामा  तामाङ समुदायकै पहिलो मुख्यमन्त्री हुन् ।

यो पनि

तपाईको प्रतिक्रिया

पत्रपत्रिका