विराटनगर कोशी प्रदेशमा ट्राफिक व्यवस्थापनअन्तर्गत आर्थिक वर्ष २०८०/८१ मा कूल १७ करोड ३१ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सो अवधिमा ट्राफिक प्रहरीले ८० दशमलव ५५ प्रतिशत प्रगति हासिल गरी दुई लाख ५५ हजार नौ सय १२ वटा सवारी चालकलाई कारवाही गरेको थियो ।
उक्त आवमा तीन हजार पाँच सय ६३ वटा दुर्घटना हुँदा तीन सय ९७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी छ हजार ७६ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार आव २०७९÷८० मा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारवाहीमा परेका थिए । उक्त कारबाहीबाट १८ करोड एक लाख ५९ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । सो अवधिमा दुई लाख ६९ हजार आठ सय २३ सवारी चालक कारावहीमा परेका थिए ।
तीन हजार आठ सय २० सवारी दुर्घटना हुँदा पाँच सय ३१ जनाको ज्यान गएको थियो । छ हजार छ सय ४८ जना घाइते भएका थिए ।