बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिने भएका छन् ।
साउन ८ गते मुख्यमन्त्री भएको उनले ३० दिनभित्र विश्वास मत लिने व्यवस्थाअनुसार लिइसक्नुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज (मङ्गलवार) का लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् । दिउँसो ३ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल सहित निर्णय हुनेछ ।
सचिवालयका अनुसार बैठकको सुरुवातमा मुख्यमन्त्री लामाले आफ्नो धारणा सहित विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।
साउन १२ मा एक विना विभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र काँग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ । पहिलो पटक काङ्ग्रेसबाट सरकारको नेतृत्व लिएका उनले एमालेका ६ र काँग्रेसका ८ जनालाई मन्त्री नियुक्त गरेका छन् ।