शिक्षक सङ्गठन रसुवाद्वारा विभिन्न माग राख्दै बुझाइयो ज्ञापन पत्र

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
749 Shares
धुन्चे, रसुवा

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति रसुवाले शिक्षकहरूको विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । बिहीबार शिक्षकहरूको हकहितका लागि विभिन्न मागहरू पूरा होस भन्दै शिक्षा विकास तथा समन्वय इकाईलाई ज्ञापन पत्र बुझाएको हो ।

सङ्गठनको अध्यक्ष आङमाया शेर्पा ह्योल्मोद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा लेखिएको छ, ‘विगत लामो समयदेखि न्यून पारिश्रमिकमा काम गरिरहेका बाल विकास शिक्षक र विद्यालय कर्मचारीहरूको श्रम कानुनले तोकिए बमोजिमको न्यूनतम पारिश्रमिकलाई पनि सम्बोधन गरिएन, पेन्सन वञ्चित शिक्षकहरूलाई साबिककै शिक्षा ऐन अनुसारको व्यवस्था गर्नुपर्नेमा सङ्घीय बजेट बेखबर देखिएको र यस वर्ष पनि सङ्घ, प्रदेश र स्थानीय तहको बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा परेको देखिएन र शिक्षकहरूलाई प्रोत्साहित गर्ने कुनै पनि कार्यक्रमहरू ल्याइएको छैन ।’

अध्यक्ष शेर्पाका अनुसार विद्यालय शिक्षाको सन्दर्भमा बाल कक्षादेखि १२ कक्षासम्मको हरेक परीक्षाको नतिजाको व्यवस्था विश्लेषण गरी सुधार गर्नुपर्नेमा केवल कक्षा १० को एसइईको मात्र समीक्षा गरेर शिक्षक बर्गलाई यसको भागिदार बनाउने प्रविधि गलत रहेको बताएकी छन् । उनले वाल विकास शिक्षक, विद्यालय कर्मचारी, राहत प्राविधिक धार, सङ्घीय प्रादेशिक तथा स्थानीय तहबाट तलब खाने गरी नियुक्त शिक्षकहरू लगाएत सबै प्रकारका निजी तथा विद्यालय नर्स लगायत शिक्षा क्षेत्रमा काम गर्ने स्थायी शिक्षकसरहको तलब र योगदानमा आधारित सामाजिक सुरक्षा प्रबन्ध जस्ता थुप्रै मागहरू रहेको बताएकी छन् ।

जिल्ला समन्वय समिति रसुवा लगायत जिल्ला को ५ गाउँ पालिकाको कार्यालयमा समेत ज्ञापन पत्र बुझाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया