निर्घात कुटापिटबाट श्रीमतीको ज्यान गए पछि पक्राउ परेका ३८ वर्षीय कृष्णबहादुर श्रेष्ठ पुर्वपक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत दोलखाले पुर्वपक्षका लागि थुनामा राख्न श्रेष्ठलाई आदेश दिएको हो ।
श्रीमतीको मृत्युपछि पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालतले बुधबार पुर्वपक्षका लागि जिल्ला कारागार पठाएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।
शैलुङ गाउँपालिका वडा नम्बर ४ का कृष्णबहादुर श्रेष्ठले साउन २७ गते राती घर झगडामा ३१ वर्षीय श्रीमती मैना श्रेष्ठलाई निर्घात कुटपिट गरेको थियो । कुपिटपछि गम्भीर घाइते श्रीमतीलाई उपचारको लागि लगेका थिएन । पछि छिमेकीले थाहा पाएपछि काठमाण्डौ स्थित छाउनी अस्पताल उपचारको लागि लगेको थियो । उपचारको क्रममा उनको अस्पतालमा भदौ २८ गते मृत्यु भएको थियो ।
त्यसपश्चात माइती पक्षले भदौ १० गते ज्यान सम्बन्धी कसुर (ज्यान मार्ने उद्योग) शिर्षकमा जिल्ला प्रहरी कार्यालय दोलखामा जाहेरी पेश गरेका थिए । कुटपिटका कारण उपचारको अस्पतालमा आफ्नी छोरी मैना श्रेष्ठको मृत्यु भएको बुवा रामबहादुर श्रेष्ठले बताए ।
श्रेष्ठको उपचारका क्रममा मृत्यु भए पश्चात पुनः भदौ २८ गते ज्यान सम्बन्धी कसुर मुद्दामा जाहेरी जिल्ला प्रहरी कार्यालय दोलखामा पेश गरिएको थियो । जाहेरी लगत्तै कृष्णबहादुर श्रेष्ठलाई छाउनीबाट पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत दोलखामा पठाएको थियो ।