समुन्द्री सतहदेखि २ हजार ६ सय ९० मिटरको उचाइमा रहेको धार्मिक पर्यटकीय क्षेत्र आमाछोदिङमो अर्थात् पार्वतीकुण्डमा पनि यस वर्ष जनैपूणिर्मा मेला लाग्ने भएको छ ।
पार्वतिकुण्ड संरक्षण समितिका अध्यक्ष चेरसिंह तामाङका अनुसार स्थानीय भाषामा पार्वतीकुण्डलाई आमाछोदिङमो भनिन्छ, यसको अर्थ पानी जमेको ताल हो । २०३२/३३ सालतिर नेपाली सेनाको सहयोगमा सडक निर्माण गर्ने क्रममा यो कुण्ड पनि फेरियो र बन्यो पार्वतिकुण्ड त्यही कुण्डको पुरानो नामबाट अहिले गाउँपालिकाको नाम आमाछोदिङमो राखिएको छ ।
साबिकको गत्लाङ गाविस हाल आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ मा पर्ने उक्त कुण्ड पौराणिक कथन अनुसार भगवान् शिवले कालकुट विष सेवन गरेपछि पानीको खोजी गर्ने क्रममा पार्वती गोसाईंकुण्ड नजिकैको यही कुण्ड पुगेर स्नान गरेको किंवदन्ती रहेको उपप्रमुख चण्डिका तामाङले बताइन् ।
रसुवाको चर्चित गाउँ गत्लाङबाट हिँडेर १ घण्टा र गाडीमा गए आधा घण्टाको दुरीमा पर्ने पार्वती कुण्डलाई बोझोले ढाकेपछि अहिले बोझो निकालेर केही हदसम्म फराकिलो बनाइएको छ । जनैपूणिर्माको दिन प्रकृतिको पूजा गर्ने र धामी झिक्राहरू आफ्नो तन्त्रमन्त्र कला देखाएर पूजा गर्ने गरेको उपप्रमुख तामाङले बताइन् । त्यस ठाउँका स्थानीयहरू आत्मैदेखि सोचेर मागे चिताएको पुग्नेमा विश्वास गर्छन् । यो कुण्ड बौद्ध तथा हिन्दु धर्मावलम्बीहरूले मान्दछन् ।
बागमती प्रदेश सरकार,डिभिजन वन कार्यालय र आमाछोदिङमो गाउँपालिका मिलेर कुण्ड सरसफाइ गर्ने काम भएको छ । १ सय ८ धारा समेत बनाइएको छ । त्यस क्षेत्रमा भ्यु टावर निर्माण लगायत झाडी फाँडेर वृक्षारोपण गर्ने काम समेत भएको छ । पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गरेको रसुवाको महत्त्व व्यग्लै रहेको छ ।
पार्वतिकुण्ड संरक्षण समिति रसुवाका अध्यक्ष तामाङका आफ्नो पुर्खालाई उद्धृत गर्दै पहिलेको कुण्ड को गहिराई ९ वटा चौरीको लामो भुल्लाबाट बनाएको डोरी गडने थियो रे अहिले ताल को गहिराई १३ मिटर रहेको छ ।पहिले ६ हेक्टर मा फैलिएको कुण्ड अहिले खुम्चिएर ३ हेक्टर मा साँघुरिएको छ ।रसुवाको पार्वतीकुण्ड लमजुङको बाह्र पोखरी तथा अन्य दुधकुण्ड हरूमा पनि जनैपूणिर्मा मेला लाग्दछ ।