जनैपूर्णिमाको अवसरमा लाग्ने पाँचपोखरी मेलामा आउने तीर्थयात्रीलाई लक्षित गर्दै मेलम्ची नगरपालिकाले दुई महिनादेखि अवरुद्ध मेलम्ची तिपेनी सडक सुचारु गराउन थालेको छ ।
पाँचपोखरी मेलामा विभिन्न स्थानबाट आउने यात्रुको सहजतालाई ध्यान दिँदै मेलम्ची नगरपालिकाले अवरुद्ध सडक मर्मत गरेर सुचारु गराउन लागेको हो । मेलाका तीर्थयात्रुसँगै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका बासिन्दालाई समेत आवागमनमा सहज बनाउन झन्डै दुई महिनादेखि अवरुद्ध सडक सुचारु गराउन लागिएको नगर प्रमुख आइतमान तामाङले बताए ।
गत असार १ गते र त्यसापछि आएको बाढी र पहिरोका कारण कटान हुँदा मेलम्ची तिपेनी भोताङ सडक ठाउँ ठाउँमा अवरुद्ध छ । सडक अवरुद्ध हुँदा मेलम्ची हुँदै पाँचपोखरी जाने यात्रुहरूलाई असुविधा हुने भएकाले तत्काल ट्र्याक खोलेर आवागमन सहज बनाउन लागिएको नगर प्रमुख तामाङले जानकारी दिनुभयो । पहिरो गएको स्थान मेलम्ची–९ स्थित मकैबारी पुगेर प्रमुख तामाङले यथाशीघ्र मेलम्चीबाट खाल्डे खोलासम्मको सडक सुचारु गराउन निर्देशन दिएको छ ।
यसअघि नगरपालिकाले मेलम्ची, ज्यामिरे, सुनखानी, रातमाटा, खाल्डेखोला सडक मर्मत गरी पाँचपोखरी थाङ्पाल आवतजावत गर्ने वैकल्पिक मार्ग निर्माण गरेको थियो । सडक मर्मतका लागि प्रमुख तामाङ, उपप्रमुख उमा प्रधान प्राविधिकसहितको टोली लिएर पहिरोस्थल पुगेका थिए ।
यसअघि पनि पाँचपोखरी थाङ्पाल गाउँपालिकाको आग्रहमा स्थलगत अवलोकनपछि प्रमुख तामाङले वैकल्पिक मार्ग मर्मत गर्न निर्देशन दिएका थिए । खाल्डे खोला सम्म सडक सहज भएपछि यात्रुले लाँगर्चे हुँदै आवतजावत गर्न पाउनेछन् ।