बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले खेल जगतले राष्ट्रको पहिचान गराउने बताएका छन् ।
शनिवार सुस्मिता फाउन्डेसन र च्याम्पियन मार्सल आर्ट एकेडेमीद्वारा आयोजना गरिएको बधाई तथा सम्मान कार्यक्रममा मुख्यमन्त्री लामाले बागमती सरकारमा रहँदा सरकारले गर्नुपर्ने पहलकदमीमा कुनै कमी नराख्ने बताएका हुन् ।
उनले भने,‘खेलमार्फत देश र प्रदेशको नाम चिनाएको छ । खेललाई ट्याकल गर्न सकेमा जित सुनिश्चित हुन्छ । जसको लागि टेक्निक सिकाउने गुरुहरूप्रति नमन भन्न चाहन्छु । ’
टुसाल मल्टी भेन्युमा भएको कार्यक्रममा साउथ एसियन कराँत प्रतियोगितामा स्वर्णपदक विजेता मिनबहादुर तामाङ नगद एक लाखसहित सम्मान गरिएको थियो ।
त्यस्तै फाउन्डेसनले बागमती प्रदेशबाट तामाङ समुदायको पहिलो मुख्यमन्त्री भएकोमा मुख्यमन्त्री लामालाई बधाई दिएका थिए ।
कार्यक्रम मा खेलाडी अनिल बराम , प्रशिक्षकहरू दीपक श्रेष्ठ , कुशल श्रेष्ठ , मन्दे काजि श्रेष्ठ , श्याम सुनुवार, महेश महर्जन साथै फुटबल खेलाडी रिहान बुढा सम्मानित भएका छन् । यस्तै स्थानीय तह र प्रभुत्व व्यक्तित्वहरूलाई समेत सम्मान गरेका थिए ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सुस्मिता लामाले बागमती सरकारका मुख्यमन्त्रीलाई बधाई दिन पाउँदा खुसी लागेको बताउँदै खेलकुद क्षेत्रमा बागमती सरकारको ध्यान जान अनुरोध गरेकी छन् । उनले भनिन्,‘तपाइको नेतृत्वमा बागमती प्रदेश र समुदाय समृद्धि र प्रगतिको मार्गमा अघि बढ्नेछ ।’
कार्यक्रममा तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, नेपाल कराँते महासङ्घका महासचिव दावा गुरुङ लगायतका अतिथिहरूको उपस्थिति रहेका थिए ।